तुलसीपुर, माघ २२ । तुलसीपुरलाई ५ वर्षभित्र मोतियाविन्दुमुक्त उपमहानगरका रुपमा विकास गर्नका लागि तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालका विचमा सहमति भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल नेत्रज्योति संघका अध्यक्ष कृष्णकुमार गिरीका विच भएको सहमति अनुसार मोतियाविन्दु भएकाहरुलाई निशुल्क शल्यक्रिया गर्नेगरी सहमति भएको हो ।
सहमति अनुसार सिआइएस प्रविधिबाट मोतिविन्दुको शल्यक्रिया गर्दा प्रतिव्यक्ति लाग्ने ८ हजार मध्ये ३ हजार अस्पताल र ५ हजार उपमहानगरपालिकाले व्यहोर्नेछ । त्यसैगरी तुलसीपुर उपमहानगरका १९ वटै वडाहरुमा आँखा चेकजाँच गरि मोतिविन्दुका विरामीहरुलाई शल्यक्रिया गरी उज्यालो प्रदान गर्ने सहमति भएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
यस आर्थिक बर्षबाट सुरु भएको कार्यक्रम अन्र्तगत प्रत्येक बर्ष सम्झौता बमोजिम कार्यक्रम सञ्चालन हुने स्वास्थ्य महाशाखाका डा. गोकर्ण दाहालले जानकारी दिएका छन् । जिल्लामा रहेका १० वटा स्थानीय तहमा देखिएको दृष्टिविहीनताको समस्यालाई हटाउन स्थानीय सरकारलाई सहयोग पु¥याउने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले ‘मोतिबिन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम’ सञ्चालन गरे संगै उपमहानगरमा पनि यो सम्बन्धी सम्झौता भएको संघका सभापति कृष्णकुमार गिरीले जानकारी दिएका छन् ।
उपमहानगरले अव केही समयमै मुख्यमन्त्री र आँखा विज्ञ सन्दुक रुइतलाई ल्याएर भव्य कार्यक्रमका विच मोतिबिन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम उद्धाटन गर्ने कार्यक्रम रहेको नगर प्रमुख पाण्डेले जानकारी दिए । सो अवसरमा नेपाल नेत्रज्योति संघका पदाधिकारी, अस्पतालका प्रशासकिय प्रमुख, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, योजना शाखा प्रमुख स्वास्थ्य शाखाका प्रमुखहरुको सहभागीता रहेको प्रेस संयोजक बसन्त विवश आचार्यले जानकारी दिएका छन् ।