
दाङ, चैत १४ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) हेलिकोप्टर चढेर सोमबार टावर उद्घाटन गर्न आउने भएका छन् ।
रोल्पा नगरपालिकाको लगानीमा वडा नं. ३ सातदोबाटोको डाँडोमा रोल्पामा झन्डै ६ करोड लागतमा टावर निर्माण गरेपछि त्यही उद्घाटन गर्न प्रचण्ड रोल्पा आउन लागेका हुन । रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले ११ः ४५ बजे अध्यक्ष प्रचण्ड हेलिकोप्टर मार्फत रोल्पामा निर्मित टावर उद्घाटन गर्न आउने कार्यक्रम रहेको जानकारी दिए ।
‘जनयुद्ध’ स्मृति टावर निर्माण गर्न पाँच करोड ७१ लाखमा टेन्डर आह्वान भएको थियो । २०७६ साल भदौ ७ गते तत्कालिन अर्थमन्त्री बर्षमान पुनले टावरको शिलन्याश गरेका थिए ।
नगरपालिकाको लगानीमा निर्माण भएको टावरको अगाडि पट्टी २०५२ साल फागुन १ गते ‘जनयुद्ध’ सुरु हुँदा सार्वजनिक पहिलो पोष्टरबाट दुई वटा शालिक निर्माण गरिएका छन् । जनयुद्धको समयमा सहादत प्राप्त गरेका र बेपत्ता पारिएका सबैको स्मृतिमा अर्कौ शालिक निर्माण गरिएको छ ।
मेयर केसीले रोल्पा जिल्ला भर सहादत प्राप्त गरेका ७६२ र राज्य पक्षबाट बेपत्ता पारिएका थप १६५ गरि कुल ९४६ जनाको स्मृतिमा शालिक निर्माण गरिएको छ । रोल्पा परिवर्तन र ‘जनयुद्ध’को केन्द्र भाग भएको हुँदा युद्ध पर्यटन मार्फत विश्वभरका मानिसहरु आउने उनले आशा ब्यक्त गरे ।