
तुलसीपुर, चैत २ । पार्टीको भर्खरै सम्पन्न १४औं अधिवेशनका सन्दर्भमा दाङका दश पालिका र एक सय वडामा एउटामा मात्र वडामा महिलाले नेतृत्वको जिम्मेवारी पाएा छन् । अघिल्ला निर्वाचनका अभ्यास हेर्ने हो भने दाङका कुनैपनि वडा र पालिकामा महिलाले अध्यक्षको टिकट नै पाउन सकेनन ।
‘सवैमा हामीले प्रमुख मागेको होइन, कँहिकँही त प्रमुखको जिम्मेवारी दिन सकिन्छ नि,’ नेतृ सुष्मा लामिछाने गिरीले भनिन् ‘ केन्द्रीय नेतृत्वले यसलाई गम्भीरता पूर्वक सोच्न आग्रह गर्दछ ।’
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नंवर ३ को आयोजनामा बुधवार तुलसीपुरमा आयोजित ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानमा मन्तव्य व्यक्त गर्दै नेतृ गिरीले आधा आकाँशको जिम्मेवारी पाएका महिलालाई राजनीतिको मुलधारमा लैजानका लागि नेतृत्व तहमै लैजानु जरुरी रहेको तर्क गरिन ।
‘महिलाले नेतृत्व गरेका संस्थाहरुमा बढी शुसासन र पारदर्षिता हुन्छ,’ उनले प्रश्न गरिन ‘मतदाता संख्यापनि महिलाहरुकै बढी छ भने किन महिलालाई अधिकारबाट बञ्चित गर्ने ?’
जिल्लाका दश पालिकाहरु मध्य कँही न कँही महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाउन उलने माग गरिन ।त्यसपछि मात्रै पार्टी समावेशी बन्ने र महिलाको हक अधिकार सुनिश्चित हुने उनले बताइन । नेतृ देवा डाँगीले महिलाहरु हरेक पदिय जिम्मेवारी वहन गर्न सक्षम रहेको भएपनि पुरुषहरुले अवसरबाट बञ्चित गर्ने गरेको बताइन ।

‘महिलालाई क्षमता र लगनशिलता हेरेर प्रमुख पदमा उम्मेदवारी दिइयोस,’ उनले भनिन् ‘ महिला उम्मेदवार हुँदा निर्वाचनको प्रचार प्रसारदेखि हरेक कुरा अनुशासित हुन्छ ।’
अघिल्लो स्थानीय तहको निर्वाचनमा लमही नगरपालिका र दंगिशरण गाउँपालिकामा प्रमुख पद कांग्रेसले गुमाउंदा उपप्रमुख कांग्रेसकै महिला नेतृले जितेको उदाहरण प्रस्तुत गर्दै महिलालाई कम्जोर नठान्न उनले चेतावनी दिइन ।
कार्यक्रममा महिलाहरुको उपस्थिति भने निकै कम थियो । महिलालाई बोल्ने अवशरपनि निकै कम दिइएको थियो । तर, कार्यक्रम कांग्रेसलाई कसरी जिताउने भन्दा पनि कसलाइ टिकट दिलाउनेमा बढी लक्षित जस्तै देखिन्थ्यो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्वसभापति घनश्याम रेग्मीले चुनाव पार्टीले जित्ने हुँदा व्यक्तिले नजित्ने भन्दै जस्ले टिकट पाएपनि इमान्दारी पूर्वक निर्वँचन गराउन लाग्नु पर्ने बताए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेता महादेव शाह, केशव आचार्य, महाधिवेशन प्रतिनिधिहरु विमल रिजाल,नहकुल केसी, टिका घर्ती, घनश्याम ढकाल, नेपाली कांग्रेस दलित संघका प्रदेश अध्यक्ष जोगेन्द्र विश्वकर्मा, कांग्रेस सहसचिव द्धय राजु आचार्य र सुवोधकुमार डाँगी, कांग्रेस नेता शुरेन्द्र खड्काले सम्बोधन गरेका थिए ।
त्यस्तै तुलसीपुर नगरसभापति शुरेश हमाल, शान्तिनगर गाउँपालिकाका सभापति झलक केसी, ववई गाउँपालिकाका सभापति प्रकाश बस्नेत, दंगीशरण गाउँपालिकाका सभापति शम्भु गिरी, कांग्रेस नेता तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिह डांगी, निर्वाचन क्षेत्र नंवर ३ प्रदेश सभापति द्धय देवेन्द्र रिजाल र खिमबहादुर वली लगायतले काँग्रेसलाई एकतावद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । कांग्रेस निर्वाचन क्षेत्र नं. ३ का सचिव पुर्णवहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शोभाकर सापकोटाले गरेका थिए ।
