दिप्तीशिखा चौधरी
दंगीशरण, ८ माघ ।
दंगीशरण गाउँपालिकाको ६ वटा वडाहरुमा सडक मर्मत कार्य सम्पन्न भएको छ । सडकमा खाल्डाखुल्डी परेपछि आवतजावतमा समस्या परेको भन्दै गाउँपालिकाले सडक मर्मत गर्ने कार्य शुरु गरेको हो । गाउँपालीकाको वडा नम्बर १ को फुर्केसल्ली, बंगालपुर , बैबाङदेखि बाँकी, गोल्टाकुरीको झोलुङ्गे पुल र बुर्केसालसम्म जोड्ने सडक मर्मत गरिएको वडा नम्बर १ का अध्यक्ष श्रीप्रसाद चौधरीले जानकारी दिए ।
त्यस्तै गाउँपालिकाको वडा नम्बर २ मा पनि सडक मर्मत कार्य सम्पन्न भएको छ । वडाको दमारगाउँ, बगांलपुरमा सडक मर्मत गरिएको हो भने बाघमारेको सात टाकुरामा कल्भर्ट निर्माण गरिएको वडा अध्यक्ष तुल्सीराम देवकोटाले जानकारी दिए । यसैगरी वडा नम्बर ३ मा पनि सडक मर्मत गरिएको छ । वडाको हेकुली, चखौरा, रावतगाउँमा सडक मर्मत गरिएको वडा अध्यक्ष पूर्णबहादुर चौधरीले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर ५ मा पनि सडक मर्मतसँगै ग्राभेल गरिएको छ । बर्षायाममा खसेको पहिरो हटाएर हेकुली जाने बाटो मिरौलीसम्म सडक ग्राभेल गरिएको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए । त्यसैगरी सलौराको बीच गाउँदेखि पिपलबुटासम्म, चौपारीदेखि सलौरा स्कुल जाने बाटो र रोल्पालीको घरसम्म जाने बाटो मर्मत गरिएको अध्यक्ष गौतमले बताए ।
यस्तै वडा नम्बर ६ मा थपगाउँ, लेटार, राजपुर र परसडुवामा र वडा नम्बर ७ को बुटनियाको दलित बस्ती, बाँका, रजपल स्थानमा सडक मर्मत गरिएको अध्यक्ष वीर बहादुर वलीले जानकारी दिए ।
आर्थिक बर्ष ०७५÷७६ मा थप गरिएका योजनामा यी योजनाहरु परेका हुन् । जसमा वडा नम्बर १ को सडक मर्मतका लागि १ लाख ५० हजार, वडा नम्बर २ का लागि २ लाख, वडा नम्बर ३ का लागि १ लाख २५ हजार, वडा नम्बर ४ का लागि १ लाख २५ हजार, वडा नम्बर ५ का लागि २ लाख, वडा नम्बर ६ र ७ का लागि २ लाख बजेट विनियोजन गरिएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार, विभाग पुल्चोक ललितपुरले चालु आर्थिक बर्षमा सडक मर्मत कार्यका लागि गाउँपालिकाको लागि स्विकृत गरि पठाएको जम्मा १० लाख रकम वडाको सडक मर्मत योजनाका लागि विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । सडक मर्मत भएपछि अहिले पैदल यात्रीका साथै गाडीहरुलाई आवतजावतमा सहजता भएको छ ।