पुस २२ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सडकमा हुँदै आएको तरकारी बजार तत्काल हटाउने वताएका छन् । तरकारी तथा फलफूल वजार निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै नगरप्रमुख पाण्डेले त्यसपछि कसैलेपनि सडकमा तरकारी व्यापार गर्न नपाउने बताए ।
‘वजारलाई सुन्दर र व्यवस्थित वनाउनु सबै नागरिकको दायित्व हो,’ नगरप्रमुख पाण्डेले भने ‘ नियम विपरित ठेलामा हुँदै आएको व्यवसाय पनि व्यवस्थित गरिन्छ।’
तरकारी तथा फलफुल व्यवसायीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा पाण्डेले सडकमा कसैले पनि व्यापार गर्न नपाउने बताए ।
वडा नम्वर ५ का वडाध्यक्ष विरेन्द्र शाहले वजार व्यवस्थापन गर्नको लागि सबै नगरवासीले सघाउनु पर्ने बताए ।
तर तुलसीपुर तरकारी व्यवसायी समितिका अध्यक्ष झुपलाल खड्काले व्यवसायका लागि आवश्यक संरचना निर्माण भइसके पछि सडकको व्यापार रोकिने आशा व्यक्त गरे ।
किराना पसलमा पनि तरकारीको व्यापार हुँदै आएको भन्दै त्यो रोक्न आवश्यक रहेको धारणा राखे । अर्का व्यवसायी माधव घिमिरेले किसानलाई तरकारी वेच्नका लागि निश्चित ठाउँ वनाउन आवश्यक रहेको बताए ।
त्यस्तै किसान दोलखवहादुर खत्रीले भारत बाट आउने तरकारीका कारण स्थानीय किसान मर्कामा परेको बताए ।
उनले स्थानीय तरकारी खपत नहुँदा सम्म वाहिरको तरकारी भित्रन दिन नहुने बताए । नवराज रावतले विचौलियाका कारण आफुहरु जस्ता किसान मर्कामा परेको वताए । उनले तरकारीको मुल्य निर्धारण गर्दा लागत मुल्यलाई ख्याल गर्न आवश्यक रहेको बताए ।
आइतवारको अन्तरक्रिया पछि तरकारी तथा फलफूल वजार व्यवस्थापनका लागि कार्यविधि वनाउन उपभोक्ता तथा हित संरक्षण शाखा प्रमुख नारायण रेग्मीको संयोजकत्वमा किसान, व्यवसायी रहेको एउटा समिति समेत निर्माण गरिएको छ ।