२०८१ बैशाख १३ गते बिहिवार

बाटाेमै चालकको आँखा र रक्तचाप चेकजाँच

राजेश खत्री,
दाङ, पुस २२ । दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ तुलसीपुरको गोठीखोलामा आइतवार बाटोमै चालकको आँखा र रक्तचाप चेक जाँच गरिएको छ ।

आइतवार विहान १० बजेदेखि राप्ती लोकमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ गोठीखोलामा चालकहरुको निशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो । तुलसीपुर वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण रानाको अध्यक्षता र ५ नं. प्रदेश प्रहरी प्रमुख एवं डिआईजी पिताम्वर अधिकारीको प्रमुख आथित्यमा उक्त कार्यक्रम भएको थियो ।

प्रमुख अतिथि तथा डिआईजी अधिकारीले दुर्घटना न्यूनिकरणमा सहयोग पुगोस भन्ने उदेश्यका साथ सडकमै चालकको स्वास्थ्य चेकजाँच अभियान सुरु गरिएको जानकारी दिए ।

पुस ६ गते केही माथि राम्रीमा भएको विभत्स दुर्घटनाले ठूलो सन्देश छोडेको हुँदा सानो सावधानी बाट पनि त्यस्ता दुर्घटना बाट जोगिन सहयोग पुगोस भन्ने उदेश्यले चालकको आँखा र रक्तचाप जाँच गरिएको उनले बताए । सडक सभ्यतालाई पालना नगर्दा दुर्घटना हुने भन्दै डिआईजी अधिकारीले सडक प्रयोग गर्दा सबैले सडक सभ्यता पालना गर्नु पर्ने बताए ।

‘अर्कौलाई समस्या पर्ने काम कसैले गर्न हुँदैन’ डिआईजी अधिकारीले भने ‘ओभरटेक गर्दा सबैले सावधानी अपनाउन अति आवश्यक हुन्छ ।’
त्यस्तै कार्यक्रमलाई राप्ती आँखा अस्पताल तुलसीपुर रक्षाचौरकी नेत्र रोग विशषेज्ञ डा.शुलक्ष्मी कटवालले हरेक चालकले समय समयमा आँखाको चेक जाँच गराउँदा दुर्घटना न्यूनिकरण हुने दाबी गरिन ।

उमेर ढल्किदै गरेका चालकले आफ्नो आँखाको अवस्थाको बारेमा समय समयमा चेकजाँच गराउन अति नै आवश्यक रहेको उनको सल्लाह छ ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै मावि रक्षाचौरका शिक्षक गोपाल बुढाथोकीले चालकको आँखा कमजोर बने दुर्घटनाको जोखिम बढ्ने बताए । त्यस अवसरमा प्रदेश प्रहरी प्रवक्ता एवं डिएसपी पुष्पराज मल्ल, ईलका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख प्रेमबहादुर शाही, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्रबहादुर केसी लगाएतले सडक अनुसानको महत्व र पालना गर्दा हुने फाईदाहरुका बारेमा चालक तथा यात्रुहरुलाई जानकारी दिएका थिए ।

सडकमै आफ्नो स्वास्थ्य चेकजाँच गर्न पाउँदा चालक खुसी थिए भने लामो समय सम्म रोकिनु पर्दा यात्रुले भने दिक्क लागेको प्रतिक्रिया दिएका थिए । यस्तो चेकजाँच बाटोमा भन्दा निश्चित अस्पतालमा गरिनु पर्ने प्रतिक्षारत यात्रुहरुले सल्लाह दिएका छन् ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत दुर्घटना न्यूनिकरण अभियानमा टेवा पुगोस भन्ने उदेश्यले गरिएको उक्त स्वास्थ्य चेकजाँच कार्यक्रमलाई राप्ती अंचल अस्पताल तुलसीपुर र राप्ती आँखा अस्पताल तुलसीपुरले प्राविधिक सहयोग उपलब्ध गराएका थिए । जसलाई स्थानीय तह अन्तरगत वडा नं. ३ र ४ ले सघाएका थिए । उक्त कार्यक्रमको सहजीकरण पत्रकार बालाराम खड्काले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०७५ पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *