राजेश खत्री,
दाङ, पुस १३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ अन्तरगतका कल्ले बल्लेमा पानीको हाहाकार रहेको छ । पानी भर्नकै लागि महिलाहरुले ठूलो सास्ती खेप्नु परेको गुनासो गरेका छन् । अघिल्लो दिन लाईनमा गाग्री राखेपनि मुस्किलले दोस्रो दिन सम्म पालो आउने गरेको स्थानीय महिलाहरुले गुनासो गरेका छन् । यद्यपी यही रसाएको पानीको मुलवाट तुलसीपुर बजार र आसपासको वस्तीले बर्षौंदेखि प्यास मेटाउँदै आएको छ । खोलाको पानी तान्न यहाँ विजुली बत्ति पनि छैन । त्यही भएर पानीको मुल सम्म पुग्न स्थानीयले ठूलो सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।
निवासी ३१ बर्षीया हरिकता घर्तीले पानीको लागि त्यहाँका साँझ विहान महिलाहरुले ठूलो सास्ती खेप्नु परेको गुनासो गरेकी छन् । पानीको दुःखका कारण केही महिला भएर जन्मिए हुँला र किन यस्तो ठाउँमा विहे गरे हुँला भनेर दिकगार लाग्ने गरेको उनले बताइन ।
पानी ल्याउन साँझ विहान डोको बोकेर बल्ले बाट घर्ती गाउँ पुग्नै पर्ने बाध्यता त्यहाँका महिलाहरुलाई छ । बल्ले बाट घर्ती गाउँ पुग्न मात्रै साढे दुई घन्टा लाग्ने उनले जानकारी दिइन । पानीसहितको भारी बोकेर आउन झनै बढी समय लाग्ने हुँदा यो महिलाले पानीको लागि ठूलो सास्ती खेप्नु परेको उनको तर्क थियो ।
कल्ले बल्ले क्षेत्रमा विद्युतका पोल गाडेको ५ बर्ष भन्दा बढी भइसकेको भएपनि पोलमा विद्युत तार भने अझैंविस्तार गरिएको छैन । यहाँका महिलाहरु सुत्केरी गराउँदा समेत तुलसीपुर झर्नेपर्ने बाध्यता छ । यहाँका जनताले नजिकमा अस्पताल कहिले देख्न पाउने हुन त्यो अmभै अनिश्चित छ ।
‘यो बाटोमा जीप दुईवटा मात्रै चल्छन्,बजार जाँदापनि महिला बालबालिका सिट नपाएर छत मै बसेर जानुपर्छ,’ घर्तीले भनिन् ‘यो अप्ठेरो बाटोमा छतमा बसेर यात्रा गर्दा दुर्घटनाको जोखिम धेरै छ ।’
नजिकमा प्रहरी नहुँदा गाउँ घरमा मदिरा खानेहरुले उप्रदो मच्चाउने गरेको घर्तीले बताइन । ‘प्रहरी खोज्न तुलसीपुर नै जानु पर्ने बाध्यता छ,’– घर्तीले भनिन् ‘कुनै घटना वा झैंझगडा हुँदा प्रहरीलाई खवर गरेपनि अर्कौ दिन मात्रै आइपुग्छ।’ उनले सुरक्षाको उपस्थिति नहुँदा त्यहाँका महिला,बालबालिका तथा जेष्ट नागरिकहरु माथि अत्याचार हुँदै आएको बताइन । ‘बल्लेको दाङ भन्या जस्तै छ, यहाँ मानव अधिकार र व्यक्तिगत स्वतन्त्रताको कुरा कतै छैन ।’ घर्तीले भनिन् ।