दाङ, पुस १० ।
दाङ प्रहरीले भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका निवासी ५० बर्षीय नरबहादुर घर्ती र रेशमबहादुर बुढाथोकीलाई भरुवा वन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । एकजनलाई गोली लागेको घटना सार्वजनिक भएपछि त्यो खोज्दै जाँदा उनीहरु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । आइतबार नरबहादुर घर्तीले बोकेको भरुवा बन्दुक पटड्किएर ४० बर्षीय धनलाल पुनलाई गोली लागेको घटना सार्वजनिक भएपछि प्रहरीले बन्दुकको खोजी थालेको थियो ।
स्थानीय केही व्यक्तिको घरमा खानतलासी गर्दा तीन नाल भरुवा बन्दुक बरामद भएपछि अवैध हतियार राख्ने दुईजना व्यक्तिलाई समेत ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको थियो । दाहिने खुट्टाको गोली गाठा भरुवा बन्दुकको गोली लागर घाइते भएका धनलाल पुनको भने अहिले बाँकेमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
प्रहरीले स्थानीय डिल्लीबहादुर खड्का र नरबहादुर घर्तीको घर खानतलासी गर्दा तीन नाल भरुवा बन्दुक बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको छ । खड्का र घर्तीको घरबाट भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, सिसाका छर्राका टुक्रा, सलाईको काँटी, सोडाजस्तो देखिने वस्तु, बारुद निर्माण गर्न आवश्यक कच्चा पदार्थ, केप बनाउन प्रयोग गरिने औषधिको खोलसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनीहरुले बन्दुक राखेर स्थानीय जंगलमा गएर बर्षौंदेखि वन्यजन्तुको चोरी सिकारी गर्दै आएको हुनसक्ने अनुमान गरेको छ । पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान जारी रहेको र उनीहरुमाथि अवैध हात हतियार खरखजानासम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।