तुलसीपुर, ८ पुस ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गणेशपुरमा रहेको राप्ती शान्ति उद्यान पार्कमा अब साँस्कृतिक शनिबार हुने भएको छ । पार्कलाई आधुनिक र ब्यवस्थित बनाउन साँस्कृतिक शनिबार गर्न लागिएको आयोजकहरुले बताएका छन् । साँस्कृतिक शनिबारमा विभिन्न प्रतियोगिताहरु समेत सञ्चालन गरिने छ । प्रदेशभित्र लुकेर रहेका क्षमता र प्रतिभाको उचित सम्मान गर्ने उद्देश्यले माघ महिनादेखि नियमित रुपमा प्रत्येक शनिबार साँस्कृतिक कार्यक्रम हुनेछ । प्रतियोगिताको रुपमा नृत्य, गायनलाई समावेश गरिएको छ ।
प्रदेशस्तरीय एकल नृत्य तथा एकल गायन प्रतियोगिता सञ्चालन गर्न लागिएको र प्रतियोगिता आगामी माघ ५ गतेदेखि प्रदेश नम्बर ५ का विभिन्न स्थानहरुमा सञ्चालन गरिने कार्यक्रम संयोजक सनोद थापाले जानकारी दिए । किड्स सेभेन चिल्ड्रेन पार्कको आयोजनामा हुन लागेका नृत्य तथा गायन प्रतियोगिता तुलसीपुर, नेपालगंज बाँके, गुलरिया बर्दिया, बुटवल, सल्यानलगायतका विभिन्न जिल्ला तथा क्षेत्रहरुमा पहिलो चरणको प्रतिस्पर्धा हुने भएको छ । दाङको राप्ती शान्ति उद्यानभित्र रहेको चिल्ड्रेन पार्कलाई आन्तरिक पर्यटकीय स्थलका रुपमा स्थापित गर्नका लागि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रम संयोजक थापाले बताए ।
प्रत्येक चरणबाट छनौट भएका प्रतिस्पर्धीहरुलाई फाईनल निष्पक्ष तरिकाले छनोट गरिने छ । विभिन्न स्थानहरुबाट छनौट भएका प्रतिस्पर्धीहरुलाई अन्य चरणहरुमा चिल्ड्रेन पार्कभित्र नै प्रतिस्पर्धा गराइने चिल्ड्रेन पार्कका सञ्चालक मन्जीत पुनले बताए । कार्यक्रममा प्रतियोगीहरुलाई मोवाइल एसएमएस भोटिङ प्रणालीबाट छनोट गरिने छ । प्रतियोगितामा नृत्य तर्फबाट उत्कृष्ट हुने एकजनालाई ५१ हजार रुपैयाँ, गायनतर्फ उत्कृष्ट हुने एकजनालाई ३१ हजार रुपैयाँ नगद प्रदान गरिने छ । साथै प्रतियोगितामार्फत उत्कृष्ट हुने दशजना प्रतिस्पर्धीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।