२०८१ माघ ३ गते बिहिवार

प्रधानसेनापति थापा जितगढी किल्लामा

खस्यौली, पुस ४।  प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको आज स्थलगत अवलोकन गरेका छन  । सो अवसरमा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्व कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक बनाउन लागेको लगायतका एकीकृत पर्यटन विकासका बारेमा जानकारी गराएका थिए ।

जितगढीमा नेपाली सेनाले पनि नियमित ड्यूटी गर्ने गरी व्यवस्था मिलाउनुपर्ने र तत्कालीन अवस्थाको युद्धकला झल्किने सङ्ग्रहालयका लागि पनि सहयोग गर्न प्रधानसेनापति समक्ष आग्रह गरे ।

प्रधानसेनापति थापाले बुटवल उपमहानगरपालिकाले अगाडि सारेको अभियानको सराहना गर्दै त्यसलाई पूरा गर्ने काममा आफूहरुले पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए  । जितगढीको विकासका लागि मणिमुकुन्द सेन दरबार क्षेत्र, नुवाकोट गढी, पाल्पाको तानसेन क्षेत्र, स्यूराज, अर्घाखाँचीस्थित पृथ्वीनारायण शाहको मावलीलगायतका क्षेत्रलाई जोडेर इतिहास जीवित राख्ने क्षेत्रका रुपमा विकास गरिने धारणा ल्याइएको छ । सेनापति थापाले नेपाल एकीकरणपूर्व र पश्चातका विभिन्न किल्ला, सामरिक महत्वका क्षेत्र, गढीलाई जोडेर नेपाली सेनाले विशेष अध्ययन गरिरहेको जानकारी दिए  ।

नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले नौ फिट उचाइको तामाको पूर्णकदको शालिक र नौ फिट उचाइकै झण्डा बनाएर राख्न थालेको छ । विसं १८७२ वैशाख ७ गते जितगढीमा अङ्ग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवससमेत मनाउन थालेको थियो ।

जितगढीको सामरिक महत्वबारे बेलायत सरकारसँग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिने पनि उपमहानगरपालिकाको योजना रहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

प्रकाशित मिति : २०७५ पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *