२०८१ पुष २९ गते सोमवार

नेविसंघमा अधिवेशनको राप


दाङ, मंसिर २८ ।
नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी नेताहरुलाई अधिवेशनको रापले छोएको छ । उनीहरुले आसन्न जिल्ला अधिवेशनलाई लक्षित गर्दै सांगठनिक तयारीलाई तिब्र पारेका छन् भने नेतृत्वमा आउन चाहने आकांक्षीहरुले चुनावी माहोल निर्माण गर्न सक्रिय छन् ।

नेविसंघको केन्द्रीय निर्देशन अनुसार पुसको १४ र १५ गते जिल्ला अधिवेशन गर्नैपर्ने हुन्छ । ‘पुसको १४ र १५ गते जिल्ला अधिवेशन गर्नै पर्ने केन्द्रीय निर्देशन छ,’ नेविसंघका कार्यवाहक जिल्ला अध्यक्ष टोपवहादुर बुढाथोकीले भने ‘पुस १४ र १५ मा जिल्ला अधिवेशन गर्न नसके वर्तमान जिल्ला कार्यसमिति स्वतः भंग हुने केन्द्रीय निर्देशनमा भनिएको छ ।’

यो कडा निर्देशनका कारण पनि नेविसंघ जिल्ला कार्यसमितिलाई निर्धारित मितिमै अधिवेशन गर्न दबाब परेको छ । कार्यवाहक अध्यक्ष बुढाथोकीका अनुसार जिल्ला अधिवेशनकै तयारी स्वरुप अहिले क्याम्पसहरुमा ईकाई गठन बिस्तार अभियानलाई तिब्र भैरहेको छ । ‘क्याम्पसहरुमा इकाई समिति निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने ‘क्याम्पसहरुमा इकाई समिति गठन लगत्तै नगरपालिका र गाउँपालिकास्तरीय समिति निर्माणमा लाग्ने छौँ ।’

जिल्ला अधिवेशनको तयारीमा आफूहरु तिब्र रहेको भन्दै बुढाथोकीले निर्धारित मितिमा जिल्ला अधिवेशन गर्न आफूहरु सक्षम हुने पनि बताए । ‘हामीहरुले केन्द्रले तोकेको मितिमै जिल्ला अधिवेशन गर्नका लागि तत्पर छौँ,’ उनले भने ‘र अहिलेसम्मको हाम्रो तयारीलाई हेर्ने हो भने पनि हामीहरु निर्धारित मितिमै जिल्ला अधिवेशन गर्न सक्षम हुन्छौँ ।’

यसैगरी उनले जिल्ला नेतृत्वका लागि आकांक्षीहरुबीच चुनावी रस्साकस्सी समेत सुरु भैसकेको वताए । उनका अनुसार जिल्ला नेतृत्वका लागि अहिलेसम्म तीनजना आकांक्षीहरुको नाम चर्चामा आएको छ । उनले विद्यार्थी राजनीतिमै संलग्नलाई जिल्लाको नेतृत्व दिईनु पर्नेमा जोड समेत दिए ।

‘विद्यार्थी राजनीतिको पृष्ठभूमिभन्दा बाहिरको ब्यक्तिले नेतृत्व लिदाआई परेका समस्याको भुक्तभोगी म आफै पनि हुँ,’ बुढाथोकीले भने ‘विद्यार्थी संघको राजनीति गर्नका लागि विद्यार्थी नै अगाडि आउनु पर्छ ।’ उनले आफ्नो कार्यकालमा विद्यार्थी आन्दोलन गर्दा निकै असहज भएको समेत बताए । ‘विद्यार्थीहरुसंग डाइरेक्ट जोडिएको मान्छे भएन भने उसले विद्यार्थीको आन्दोलन गर्न सक्दो रहेनछ,’ उनले भने ‘हाम्रो कार्यकालमा भएका आन्दोलनहरुमा म आफैलाई धेरै गाह्रो भएको थियो ।’ यसर्थ नेतागत विचारका आधारमा भन्दा पनि विद्यार्थी राजनीतिमा आवद्धहरुलाई नेतृत्वमा ल्याउनु पर्छ भन्नेमा पार्टीलाई सुझाव दिईरहेको पनि बुढाथोकीले वताए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *