तुलसीपुर, माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समुहले आह्वान गरेको बिहीवारको आमहड्ताल सफल पार्न जिल्लादेखि केन्द्रीय नेताहरु समेत सडकमा आएका छन् ।
आमहड्ताल सफल पार्न केन्द्रीय सदस्य भागबत विश्वासी, जिल्ला अध्यक्ष टीकाराम खड्का, बिघठित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, संविधानसभा सदस्य अनारकली मिया, जिल्ला खेलकुद बिकास समितिका पूर्व अध्यक्ष डिल्लीबहादुर डाँगी लगाएका नेता कार्यकर्ता तुलसीपुरका सडकमा खटिएका छन् ।
उनीहरु चोक÷चोकका सडकमा पहरा दिइरहेका छन् । उनीहरु संगै आसपासमा प्रहरी पनि बाक्लो संख्यामा खटिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंह, प्रबक्ता झलक शर्मा, तुलसीपुरका ट्राफिक प्रहरी प्रमुख चन्द्र केसी लगाएका प्रहरी अधिकारीपनि तुलसीपुरका सडकमा बिहानैदेखि खटिएका छन् ।
त्यस्तै घोराहीको सडकमा जिल्ला इञ्चार्ज जीवन गौतम लगाएतका नेताहरु सडकमै बसेर आमहड्ता सफल पार्न खटिएका छन् । बिहीबार बिहान ११ बजेसम्म दाङमा कुनैपनि अप्रिय घटनाहरु नभएको प्रहरीले जनाएको छ ।
बिहीवार बिहान ११ बजे सम्मको स्थितिमा जिल्लाका बजार पूर्ण रुपमा बन्द छन । जिल्लाका बजारहरु नारायणपुर, घोराही, लमही, भालुवाङ लगाएको अवस्थापनि ठप्प रहेको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् । यातायात पनि ठप्प छ । उद्योग कलकारखाना कुनैपनि सञ्चालनमा आएका छैनन् ।