घोराही, मंसिर २४ ।
घोराही उपमहानगरपालिका वडा नम्बरं ११ र १२ का स्थानीयबासीहरुले वडा कार्यालयलगायत अन्य सार्वजनिक कार्यालय रहेको स्थानलाई केन्द्रविन्दु मानेर सडक निर्माण गर्नु माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । घोराही, हापुर, बिजौरी डाँडा, रतनपुर, रक्षाचौर सडक स्तरोन्नती तथा कालोपत्रे गर्ने सम्बन्धमा राज्य नीति अनुरुप सडक निर्माण गर्नुपर्ने माग्दै राख्दै घोराही उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राजेन्द्र बुढामार्फत घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीलाई बुझाएका हुन् ।
हापुर बटोलपुर–बिजौरी डाँडा–रतनपुर–बयिया रातामाटा सडक खण्डलाई छोडिएकाले त्यहाँका स्थानीयहरु उपेक्षित भएको गुनासो गरेका छन् । हाल बटोलपुर–वडा कार्यालय रहेको बिजौरी डाँडा सडकलाई केही रकम छुटयाइएको र स्तरहीन वटाशील कालोपत्रेको स्टिमेट गरिएको सुन्नमा आएको यस क्षेत्रका स्थानीयबासी अपमानित भएको महसुस गरेको ज्ञापनपत्र बुझाउँदै लोकराज पाण्डेले बताए ।
सडकको लागि छुट्याइएको रकम हाललाई पक्की नाली निर्माण गर्न स्टिमेट बदली आगामी बजेटमा बटोलपुर–बिजौरी, डाँडा–रतनपुर, बयिया रातामाटा सडक खण्डलाई स्तरीय दुई लेनको सडक निर्माण गर्न सहरी विकास कार्यालयलाई निर्देशन गरिदिन घोराही उपमहानगरपालिका वडा नम्बरं १२ अध्यक्ष मार्फत ज्ञापनपत्र बुझाएका छन् ।
मागलाई बेवास्ता गरेमा र सम्वोधन नभएका कडा आन्दोलन गर्ने स्थानीयबासी भरत न्यौपानेले वताएका छन् । स्थानीयबासीको मागलाई ध्यानमा राखेर काम गर्न उनले सुझाव दिएका थिए । घोराही उपमहानगरपालिका वडा नम्बरं १२ का अध्यक्ष राजेन्द्र वुढाले ज्ञापनपत्र बुझ्दै घोराही उपमहानगरपालिकाका नगरप्रमुखलाई वडाबासीहरुको गुनासो जस्ताको तस्तै सुनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । सडकको लागि छुटाएको बजेट फ्रिज नहुने गरी छलफल गर्ने उनले बताए ।