२०७७ माघ ९ गते शुक्रवार

खानेपानी ट्यांकी निर्माणको माग

श्रीराम दहित
अमिलिया, २३ मंसिर ।

अमिलिया खानेपानी योजनाका अध्यक्ष जगदिशप्रसाद द्विवेदीको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकले ट्रान्सफर्मरसहित डिप बोरिङसम्म विद्युत विस्तार र ओभरहेड ट्यांकी निर्माण गरिदिन डिभिजन खानेपानी कार्यालय दाङलाई प्रक्रियाका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

वर्षौंदेखिको खानेपानी समस्या समाधान हुन थालेको भन्दै स्थानीय अमिलिया बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर पौडेलले खुशी व्यक्त गरेका छन् । अमिलिया खानेपानी पम्पिङ योजना कार्यसमिति सचिव ओमप्रकाश वलीले खानेपानी योजनाका लागि हालसम्म १६ लाखको लागतमा डिप बोरिङ निर्माण कार्य सम्पन्न भएको बैठकमा जानकारी गराएका थिए ।

५०० घरधुरीलाई खानेपानी पुग्ने क्षमताको ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण तथा डिप बोरिङ रहेको स्थानसम्म विद्युत विस्तार आवश्यक क्षमताको ट्रान्सफर्मरसमेत माग बैठकको निर्णयबाट पारित गरिएको छ ।

बैठकमा अमिलिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मनजित खड्का, मावि अमिलियाका प्रधानाध्यापक गोपाल न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाधर खड्का, पत्रकार यज्ञबहादुर वली (प्रकाश), अमिलिया बजार व्यवस्थापन समितिका सचिव कृष्ण थापालगायतको उपस्थिति रहेको थियो ।

बैठकले खानेपानीको समस्या समाधानसँगै अमिलिया बजारलाई व्यवस्थापन गर्न सम्बन्धित निकायसँग समन्वय गर्न पहल गर्ने विषयमा छलफल गरेको छ । बैठकको सहजीकरण अमिलिया खानेपानी कार्यसमितिका सचिव ओमप्रकाश वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *