घोराही, १८ मंसिर ।
५ नम्बर प्रदेश सरकारले घोराही उपमहानगरपालिका वडा नम्बर ८ र ९ को सीमा हेरफेरका लागि संघीय सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ को ढिकपुरका स्थानीयहरुले आफूहरु वडा नम्बर ९ मा गाभिन चाहेको निवेदन वडा हुँदै उपमहानगरपालिकामा बुझाएपछि उपमहानगरले उक्त पत्र प्रदेश सरकारमा पठाएको थियो ।
ढिकपुर गाउँमा करिब दुई सय घरधुरीका स्थानीयहरुले आफूहरु ८ नम्वरबाट ९ नम्वरमा जान चाहेको पत्र बुझाएका थिए ।
प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले ढिकपुर गाउँलाई वडा नम्बर ९ मा गाभ्नका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिएका छन् । घोराही उपमहानगर वडा नम्वर ९ को दक्षिणतर्फ चयनपुर, उत्तरमा बकुलाई, पश्चिममा अस्परी र पूर्वमा लरैना सोता पर्ने र बीच भागमा वडा नम्बर ८ को ढिकपुर परेकाले त्यहाँका नागरिकहरु ९ नम्वरमा जान चाहेका थिए । उनीहरुले हस्ताक्षरसहितको निवेदन घोराही उपमहानगरपालिकामा पठाएका थिए ।
वडा कार्यालय पायक नपर्ने र ९ नम्वरको वडा कार्यालय पनि ८ नम्वरमा पर्ने भएकाले स्थानीय र दुबै वडाका अध्यक्षहरुको मञ्जुरी अनुसार नगर कार्यपालिका बैठकले प्रदेश सरकारलाई उक्त पत्र पठाउने निर्णय गरेको थियो । ढिकपुर गाउँमा करिब दुई सय घरधुरीका स्थानीयहरुले आफूहरु ८ नम्वरबाट ९ नम्वरमा जान चाहेको पत्र बुझाएका थिए ।