२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङमा वैकल्पिक विमानस्थल बनाउने निर्णय विरूद्ध आन्दोलन

दाङमा वैकल्पिक विमानस्थल बनाउने निर्णयविरूद्ध स्थानीयले फेरि आन्दोलन थालेका छन्।

आइतबार दाङ संघर्ष समितिका सदस्य सचिव धर्म सिजवालको नेतृत्वमा स्थानीयले जिल्ला प्रशासन कार्यालय र घोराही उपमहानगरपालिकामा धर्ना दिनुको साथै ज्ञापनपत्र बुझाएका हुन्। विमानस्थल निर्माण गर्ने भनिएको स्थलमा ‘डिटेल सर्वे’ निकट भविष्यमै सुरू हुने हल्ला फैलिएपछि स्थानीय नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

‘विमानस्थल बनाउने स्थानमा मुस्किलले २०/२५ बिगाहा मात्रै गुठीको जग्गा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रमा एउटा क्याम्पस, तीनवटा सामुदायिक मावि विद्यालय र निजी विद्यालयहरू रहेको, ऐतिहासिक मन्ठोरिया मन्दिर रहेको, उद्योगहरू सञ्चालनमा रहेको, सिँचाइका लागि खोलाहरूमा करोडौंको रकम खर्च भइसकेको हुँदा त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु अनुपयुक्त र असंभव छ’, ज्ञापनपत्रमा उल्लेख गरिएको छ, ‘पूर्वमा गुर्जे खोलादेखि, पश्चिममा हापुर खोला, उत्तरमा दामोदर रोडदेखि दक्षिणमा घोराही–तुलसीपुर मुल सडकको बीच भू–भागमा करिब २ हजार बढी घर एवं हजारौं जनसंख्या विस्थापित हुनेछन्।’

साथै, ज्ञापनपत्रमा दाङको एक मात्रै विमानस्थल टरिगाँउ विमानस्थल रहेको स्मरण गराउँदै त्यो कालोपत्रे समेत रहेको हुँदा त्यसैबाट विमान सेवा दिँदा जिल्लाको लागि पर्याप्त हुने उल्लेख गरिएको छ।

उनीहरूले टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तार गर्न तथा सुधार गरी शीघ्र हवाइ सेवा नियमित सञ्चालन गर्न माग गरेका छन्।साथै, मागको बेवास्ता गरी सरकार अगाडि बढेमा जस्तोसुकै कदम चाल्न पनि तयार हुने उनीहरूले चेतावनी दिए।

घोराही उपमहानगरपालिका वडा नं. १०, ११ र १२ का बासिन्दाले आफ्नो खेत बारी मासेर विमानस्थल बनाउन संभव नभएको भन्दै सुरू देखिनै त्यसको विरोध गर्दै आएका छन्।

प्रकाशित मिति : २०७५ असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *