२०८१ बैशाख ८ गते शनिवार

दाङमा सातजना प्रदर्शनकारी पक्राउ

दाङ, मंसिर १६ गते । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि प्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले सात जना नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गरेको छ ।

दाङको लमहीमा निर्मला पन्तको न्यायका लागि शान्तिपूर्ण रुपमा प्रर्दशन गरिरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्य किरण डाँगी, एकराज चौधरी, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रितिमा चौधरी लगायत ४ जना विद्यार्थीलाई वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुण सिंहको नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

तर प्रहरीले भने विप्लव नेतृत्वका कार्यकर्ताले जवरजस्ती विद्यार्थीलाई कार्यक्रममा लैजान खोजेको हुँदा त्यसलाई रोकेको दाबी गरेको छ । दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले विद्यार्थीलाई जवरजस्ती आन्दोलनमा लैजान खोजेको हुँदा प्रहरीले त्यो रोकेको बताए । उनले कसैलाई पनि पक्राउ नगरिएको बरु जवरजस्ती विद्यार्थीलाई आन्दोलनमा लैजान खोजेपछि उनीहरुलाई रोकिएको एसपी पाण्डेले जानकारी दिए ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्यले अहिलेसम्म त्यसमा संलग्न व्यक्तिको पहिचान गर्न तथा पक्राउ गर्न नसकेको हुँदा न्यायका लागि प्रदर्शन गर्नु परेको खिल क्रान्तिकारीका दाङ जिल्ला सचिव अमर खड्काले बताए । आइतवार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा जिल्लाका प्रमुख सहरहरु तुलसीपुर, घोराही,लमहीलगायतका जिल्लाका दशवटा स्थानीय तहमा निर्मला पन्तको न्यायको लागि भन्दै प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *