दाङ, मंसिर १५ । नेपाली काँग्रेसका अग्रज नेता तीर्थराज चैतु ज्ञवालीले पार्टी आपसमा जुधेर कमजोर भएको बताएका छन् । शनिवार दाङको तुलसीपुुरमा आयोजित प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको तेस्रो साधारणसभालाई सम्वोधन गर्दै आपसमा बाझेर र जुधेर काँग्रेस कमजोर भएको भन्दै चिन्ता जाहेर गरेका हुन । काँग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता ज्ञवालीले घात अन्तरघातले पछिल्लो समय काँग्रेस पराजित भएको बताए । ‘यदी घात अन्तरघात हुँदैन थियो भने काँग्रेसलाई कसैले हराउन सक्दैन थियो,’ नेता ज्ञवालीले भने ‘ अरु कसैले हैन काँग्रेसले नै काँग्रेस हराएको हो ।’ जिल्ला तहको निर्वाचनमा अन्तरघात गर्ने बदमासहरु सबैभन्दा पहिला केन्द्रमा नेताको चाकडी गर्न जाने गरेको उनले बताए । गुट उपगुटले काँग्रेस थिङथलो बनेको बताएका उनले दाङमा मात्रै १४ वटा गुट रहेको सम्म जानकारी आफुले पाएको बताए । ‘कार्यकर्तालाई गुट उपगुटमा विभाजन गर्ने को हो,’ उनले प्रश्न गर्दै भने ‘ त्यस्तो पात्रलाई चिनौं र उसलाई नेता मान्न छोडौं।’ काँग्रेसका नेता कार्यकर्ताले सोच परिवर्तन गर्न आवश्यक रहेको बताएका नेता ज्ञवालीले आपसमा मेलमिलापको सोच र प्रजातन्त्रको लागि अरुसंग जुध्नसक्ने सोचको विकास गर्न आवश्यक रहेको बताए ।
उनले पार्टीमा अनुशासन हराउँदै गरेको भन्दै चिन्ता जाहेर गरे । उनले बामपन्थी सरकार संग लड्न छोडेर काँग्रेस आपसमा जुधेको भन्दै चिन्ता जाहेर गरे । ‘सबैभन्दा पहिला पार्टी बनाउन लाग्नुहोस र त्यसका लागि नयाँ सोच प्रर्भावित गर्न आवश्यक छ,’ नेता ज्ञवालीले भने ।
‘होटेलमा, भट्टीमा नेतालाई गाली गर्नु अनुशासन हिनता हो,’ नेता ज्ञवालीले भने ‘ शेरबहादुर त्यसै शेरबहादुर भएका हैनन्, उहाँ प्रजातन्त्रको लागि ८ बर्ष जेल बस्तु भएको छ भने रामचन्द्र १४ बर्ष जेलबस्नु भएको छ ।’
अब खुमबहादुर खड्का कोही बन्न सक्दैन
पछिल्लो समय जिल्लामा नेता खुमबहादुर खड्काको अवसान पछि नेतृत्वको लागि होडवाजी चलिरहेको भन्दै नेता ज्ञवालीले त्यसमा असुन्तुष्टि जनाएका छन् । उनले नेता खड्काको अवसान पछि जिल्लामा नेतृत्वको होडबाजी चलेको भन्दै खुमबहादुर बस्न गफ गरेर नहुने स्पष्ट पारे ।
‘ अब कोहीपनि खुमबहादुर खड्का जस्तो बन्न सक्दैन, खुमबहादुर बन्छु भन्नु गलत हो,’– खड्का साथी समेत रहेका ज्ञवालीले भने ‘ खुमबहादुर त्यसै खुमबहादुर बन्नु भएको हैन, उहाँको जस्तो आधा मात्रै काम गरेर देखाउन पनि संभव छैन ।’ अब जिल्लामा कसैले पनि खुमबहादुर बन्छु भन्ने सोच पाल्न नहुने बरु सामुहिक नेतृत्वमा अगाडि बढ्नु पर्ने उनको सल्लाह थियो । उनले अब पुर्नं काँग्रेस पार्टी भित्र पुर्नंजागरणको समय आएको हुँदा त्यसमा अन्य भातृ संगठनहरुले समेत सक्रिय भूमिका निर्वात गर्न आवश्यक रहेको बताएका थिए ।