२०८० चैत्र १६ गते शुक्रवार

जीवनस्तर सुधार हुने विकास आवश्यक छ – मुख्यमन्त्री पोखरेल

दाङ, मंसिर १० । मुख्यमन्त्री शंकर पोखरेलले जनताको जीवनस्तरमा सुधार हुने विकासको ढाँचा तयार गर्न लागेको बताएका छन् । प्रदेश बन्दाखेरी नै प्रदेश सरकारले आवधिक योजना बनाउन लागेको उनले बताएका हुन ।

प्रदेश—५ को आवधिक योजना तर्जुमा सम्बन्धमा सुझाव संकलन गोष्ठीलाई सोमवार दाङको घोराहीमा सम्वोधन गर्दै उनले प्रदेश बन्ने तर बहुसंख्यक जनताको जीवनस्तरमा सुधार नहुने विकासको मोडल अनुपयुक्त नहुने बताए । ‘ प्रदेश बन्दा बहुसंख्यक जनताको जीवनस्तरमा सुधार आउने विकासको ढाँचा तय गर्न आवश्यक छ’ उनले भने ‘योजनाबाट प्रतिफल पाउने समुदायसंग जोडिएर योजना बनाउँदा प्रभावकारी हुने हुँदा त्यही ढंगले आवधिक योजना निर्माण गरिने छ ।’

त्यसपूर्व स्थानीयस्तरमा छलफल चलाइएको उनले बताए । आवधिक योजनाको अभावमा योजनामा आधारित बजेट आउन नसकेको भन्दै उनले आवधिक योजना बनेपछि मात्रै योजनामा आधारित बजेट आउने दावी गरे ।  उनले कृषिको व्यवसायिक विकास र नयाँ पुस्ताको आर्कषण गरी उत्पादन बढाउने कार्यक्रम ल्याउने योजना सुनाए । मुख्य मन्त्री पोखरेलले कृषिलाई परम्परागत ढाँचाबाट बाहिर निकाल्न नसक्दा सम्म ा नयाँ पुस्ताको आर्कषण बढाउन नसकिने तर्क गरे ।

त्यसका लागि असंगठित रुपमा रहेका किसानलाई संगठित गर्न आवश्यक रहेको उनको तर्क थियो ।

उनले दक्ष जनशक्ति उत्पादनको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने र स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाको सुधारमा ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए ।  प्रदेश सरकारले पाँच वर्षे आवधिक योजना निर्माणका लागि मंसिर ६ गतेदेखि प्रदेशका १२ वटै जिल्लामा छलफल शुरु गरेको छ । छलफल मंसिर २३ गते चल्ने छ । जिल्लातहबाट प्राप्त सुझाव समावेश गरी तयार गरिएको अवधारणा राष्ट्रिय योजना आयोगमा सुझावका लागि पठाइन्छ । त्यहाँबाट प्राप्त सुझावपछि आवधिक योजनालाई अन्तिम रुप दिने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *