दाङ, मंसीर ९ । तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण घरहरुको अभिलेख राख्ने भएको छ । उस्ले पुराना भवनहरुको अभिलेख व्यवस्थापन सम्बन्धि निर्देशिका २०७५ तयार गरि नयाँ–पुराना सबै घरको अभिलेख राख्ने तयारी गरेको छ ।
कार्यविधि अनुसार भवन संहिता २०७२ लागु हुनु पूर्व निर्माण भएको हुँदा तत्कालिन सडक तथा अन्य निर्धारण गरेको मापदण्ड पुरा नभएको भवनको अभिलेखिकरण मात्रै गर्ने तयारी गरिएको छ । उपमहानगरपालिकाका शाखा अधिकृत टंक गौतमले अभिलेखिकरण भएका घरहरुले नक्सा पास गरेको भवन सरह विभिन्न निकायवाट पाउने सुविधामा कुनै कमी नहुने बताए ।
अभिलेखिकरण भएको घरमा तला थपका लागि भने उपमहानगरपालिकाले अनुमति दिन नसक्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ । त्यसैगरी भवन संहिता लागु भइसकेपछि निर्माण भएका र भवन निर्माण संहिता, सडक मापदण्ड र अन्य प्रचलित कानुन वा मापदण्ड पुरा भएको अवस्थामा प्राविधिकको सिफारिसमा नक्सा स्वीकृत गरेर निर्माण पुरा भएको प्रमाण पत्र उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ ।
त्यस्तै भवन संहिता लागु भैसकेपछि उपमहानगरपालिका बाट सिफारिस लिएका तर भवन निर्माण सम्पन्नको कागजात नलिएको भएमा वडा कार्यालय र प्राविधिकको सिफारिसमा कागजात उपलब्ध गराउने कार्यविधी बनेको इन्जिनियर पवन योगीले जानकारी दिए । तर साविक गाविसहरुमा निर्माण भएका कच्ची घरहरुको नक्सा निर्माण गर्नु अनिवार्य गरिएको छैन । यस्ता घरहरुलाई ५ सय रुपैंया अभिलेखीकरण शुल्क तिरेर अभिलेखीकरण गरिने पनि उल्लेख गरिएको छ । भवन संहिता लागु भइसकेपछि निर्माण भएका तर संहिता पालना नगरेको हकमा घरको अवस्थालाई जनाउने गरी अभिलेखीकरण गरिने भएको छ ।
नक्सापासको लागि जुन मितिमा दर्ता गरिएको हो सोही मितिको एक वर्षभित्रमा आंशिक नक्सापासको प्रमाणपत्र लिइसक्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
कार्यविधिमा २०७५ साउन १ गतेदेखि भवन संहिता २०७२ वमोजिम निर्माण नभएका घर संरचनालाई नक्सापास नगरिने पनि उल्लेख छ । त्यस्ता घरहरुलाई तत्काल नियमानुसार कारवाही गर्ने कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले वताए ।