दाङ, मंसिर ५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले ५ नं. प्रदेशको स्थायी राजधानी दाङ नै बन्नु पर्ने बताएका छन् । नेपाल प्रेस यूनियन दाङले बुधवार घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै कुनैपनि दृष्टिकोणले दाङ राजधानीको लागि उपयुक्त स्थान रहेको बताएका हुन । ‘हामी एउटा कुनोमा हुन्थ्यौं भने राजधानी कहिलै माग्ने थिएनौं, तर, दाङ हरेक दृष्टिकोणले उपयुक्त छ,’ नेता गिरीले भने ‘हामीलाई किन ठग्ने अब त्यसका विरुद्ध सारा दाङ बासी एक ढिक्का हुनुपर्छ।’
शान्ति प्रक्रियाका १२ बर्ष तथा लोकतान्त्रिक सवलिकरणमा प्रेसको भूमिका र अक्षय कोष स्थापना कार्यक्रमका प्रमुख अतिथि नेता गिरीले हिंसाको राजनीति अन्त्य गर्न गिरिजाप्रशाद कोईरालाले ठूलो भूमिका निर्वाह गरेको बताए । कोईराला जनकपुरमा गएका बखत त्यहाँ एकजना युवाको माओवादीले हत्या गरेको देखेपछि गिरिजा बाबुले सशस्त्र युद्ध गरिरहेको शक्ति माओवादीलाई लोकतान्त्रिक मार्गमा ल्याएको नेता गिरीले उल्लेख गरे । उनले हालको दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकार नारामा मात्रै सिमित रहेको बताए । प्रजातन्त्रका सेनानी तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिला निवासी स्वर्गीय शिव गिरीको स्मृतिमा एकलाख अक्षय कोष स्थापना गरेका नेता गिरीले शिव गिरीको त्याग र निष्ठाको राजनीति सबैले अनुशरण गर्न आवश्यक रहेको बताएका थिए ।
उक्त कार्यक्रमलाई काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, पूर्व सांसद बुद्धिराम भण्डारी, महासमिति सदस्य केशव आचार्य, नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य केपी घिमिरे, महिला नेतृ सुशिला पौडेल, काँग्रेस दाङका सचिव शंकर गिरी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतम, प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागर, प्राध्यापक डा. विनबहादुर वली, प्रेस यूनियनका दाङका सल्लाहाकार सुदिप गौतम लगाएतले स्वतन्त्र प्रेसको भूमिका र लोकतन्त्रको सवलिकरणको बारेमा धारणा राखेका थिए ।