दाङ।
दाङमा बालिका अपहरण परेपनि प्रहरीले समयमै देखाएको सक्रियताले गर्दा अपहरणकारी बालिकालाई बीचमै छोडेर भागेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी ८ बर्षीया हेलिना पुन मगरलाई एकजना व्यक्तिले अपहरण गरे लगतै प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दा बालिका छोडेर अपहरणकारी भागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेम शाहीले जानकारी दिए ।
मंगरवाल बेलुका पौने ७ बजेतिर एकजना अपरिचित व्यत्तिले घर अगाडि बाट हेलिनालाई समातेर दौडिए लगतै घर परिवारले ईप्रका तुलसीपुरमा खवर गरेपछि प्रहरी तत्काल बालिकाको उद्धारको लागि परिचालन भएको शाहीले बताए । हेलिनाका बाबु कृष्णबहादुर पुन मगरले ८ बर्षीया आफ्नी छोरी हेलिनालाई एकजना अपरिचित व्यक्तिले अपहरण गरेर लगेको खवर प्रहरी समक्ष तत्कालै गरेका थिए ।
त्यसपछि प्रहरी दुई तर्फवाट घेरा हालेर परिचालित भएको हुँदा अपहरणकारीले झुलेङ्गेपुल नजिकै बालिकालाई छोडेर भागेको डिएसपी शाहीले बताए ।
प्रहरीको प्रयासले अपहरणकारीको कब्जाबाट उम्किएकी हेलिनाले प्रहरीको गाडिको साईरण सुनेपछि उस्ले त बाँचिस भन्दै छोडेर भागेको बताएकी थिइन । हेलिनालाई कस्ले र किन अपरहण गर्न खोजेको थियो भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । हेलिना अपहरणमा पर्दा उनको परिवारले जसरी समयमै प्रहरीमा खवर गरे जस्तै गरी अप्ठेरो पर्दा प्रहरीमा खवर गरे अपराध नियन्त्रण गर्न सहज हुने डिएसपी शाहीको तर्क छ ।