२०८० फाल्गुन १२ गते शनिवार

मुलुककै समृद्ध प्रदेश निर्माणमा मेरो भूमिका रहन्छ ः मुख्यमन्त्री चौधरी

केन्द्रिय सरकारको नयाँ गठबन्धन टुटेपछि प्रदेश सरकारमा त्यसको छिल्का देखिएको छ । फेरि पुरानै समीकरण व्युँझिएसँगै प्रदेश सरकारको नेतृत्वमा पनि फेरबदल भइरहेको छ । यही क्रममा लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बने ।

शपथ लिए अनि मंगलवार उनले प्रदेश सभामा विश्वासको मत पनि लिए । पछिल्लो समयमा देखिएको आर्थिक उथलपुथल, जनतामा सरकारप्रति जागेको निराशा र प्रदेश सरकारको भूमिकाका सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा दाङ जिल्लाबाटै निर्वाचित मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग खेमराज रिजालले गरेका कुराकानीको सार संक्षेप ।

— स्वागत छ तपाईँलाई सातावार्तामा अनि मुख्यमन्त्री नियुक्त भएर विश्वासको मत समेत प्राप्त गर्नुभएकोमा बधाई पनि ।

धन्यवाद, तपाईँ अनि तपाईँहरु जस्तै सवै मिडियाकर्मिहरुलाइ । म यो जिम्मेवारीमा आइरहँदा गोरक्ष दैनिकलगायत जिल्लाका आम सञ्चार माध्यमहरूलाई धन्यवाद दिन चाहन्छु । अहिले र उहिलेको अवस्था केही फरक थियो तर फरक परिवेशमा काम गरिरहँदा पनि मलाई आम सञ्चार माध्यमबाट सपोर्ट भएको स्मरण गर्न चाहन्छु । समाज बदल्नका लागि मिडियाले मलाई जेजसरी सहयोग गर्नुभएको छ त्यसको पनि उच्च मूल्याङ्कन सहित सबैलाई धन्यवाद दिन चाहन्छु ।

— भर्खरै नयाँ सत्ता समीकरण बनाएर मुख्यमन्त्री नियुक्त हुनुभयो, लुम्बिनी प्रदेश सरकारलाई अब कसरी अघि बढाउनुहुन्छ ? तपाईँ बाँकी कार्यकालका लागि ढुक्क हो वा समय बाँडफाँड हुन्छ ?

समय र कार्यकालको कुरा पछि गरौँला तर म जुन दिनसम्म काम गर्नेछु, त्यो दिनसम्म प्रदेश सरकारलाई नमुना प्रदेशका रूपमा स्थापित गर्न चाहन्छु । लुम्बिनी प्रदेशको समृद्धि पर्यटनसँग जोडिएको छ । यहाँ पर्यटकीय पूर्वाधारहरू धेरै निर्माण गर्नुपर्नेछ । हामीसँग गौतम बुद्ध जन्मिएको लुम्बिनी छ । हाम्रै प्रदेशमा स्वगर्तद्वारी महाप्रभूको मन्दिर छ ।

हामीले गौमुखीलाई रिडीसम्म जोड्न चाहन्छौँ । पहिलो चरणमा हामीले प्रदेशको समृद्धि चाहने हो तर समीकरण, फेरबदलले कुनै अर्थ राख्दैन । हामीले दिने भनेको समृद्धिको मिशन हो । यहीमा हामी गतिशील बन्नेछौँ । बाँकी कुरा भनेको सहमति, सहकार्य र जनताको चाहना अनुरूप काम गर्ने हो । त्यसमा हामीले आम सञ्चार क्षेत्रका समस्या, बेरोजगारीको समस्यालगायतका धेरै विषयलाई हामीले सम्बोधन गर्नु पर्नेछ ।

— शपथ पनि लिनुभयो, पदभार पनि ग्रहण गर्नुभयो, विश्वासको मत पनि लिनुभो । अब सरकारले कहिले पूर्णता पाउँछ, अर्थात् गठबन्धनको सरकार बनिरहँदा फेरि मन्त्रालय बढाउने अवस्था हुन्छ कि ?

अहिले मुलुक गम्भीर आर्थिक संकटमा परेको कुरा तपाईँ मिडियाकर्मीलाई जानकारी भएकै कुरा हो । यो मैले पनि महसुस गरेको अवस्था हो । यो समय समृद्धिको आन्दोलनको समय हो । यो विषयमा म धेरै गम्भीर छु । म लघुवित्तदेखि गाउँ–गाउँमा टुकी बालेर शिक्षाको दियो बाल्ने अभियन्ता हुँ भनिरहन पर्दैन । त्यसैले मुलुकको आर्थिक समृद्धिका लागि मैले मुख्यमन्त्रीका नाताले गम्भीर भएर मितव्ययिता अपनाउनु पर्नेछ । त्यसका लागि प्रदेश सरकारको अनावश्यक खर्च कटौती गर्न र प्रदेश सरकारलाई विज्नेश दिन मैले विशेष योजना बनाउने पनि यही पत्रिकामार्फत् सबैलाई जानकारी गराउन चाहन्छु ।

प्रदेश सरकारको लगानी प्रदेशको आर्थिक समृद्धिमा मात्रै केन्द्रित हुनेछ । त्यसका लागि मितव्ययिताको नीति सहित उत्पादनमूलक क्षेत्रमा लगानी गर्न हामीले योजना बनाइसकेका छौँ अनि अर्को कुरा पनि यसैमा जोड्न चाहन्छु कि मन्त्रिमण्डलले केही चाँडै पूर्णता पाउने छ । मैले कहिलेसम्म मुख्यमन्त्री चलाउने भन्ने ठुलो कुरा होइन, ठुलो कुरा त समृद्ध प्रदेश निर्माणको हो ।

यसमा हामी गठबन्धन दलका नेता र सांसदहरूले सरसल्लाह गरेर अघि बढ्नेछौँ । यसमा पावर शेयरिङको कुरा पनि आउनसक्छ । त्यो अवस्थामा पछि फेरि अर्को अभ्यास हुन सक्दैन भन्ने छैन । किनकि नेपालको संविधान नै सहमतिको दस्ताबेद हो भने हामीले पनि सहमति र सहकार्य चल्ने हो । मन्त्रालयको संख्या बढाउने पनि तपाईँले कुरा उठाउनु भयो तर मैले यस अघि नै भने लुम्बिनी प्रदेश सरकार आर्थिक मितव्ययिताको अभियानमा छ ।

— स्थायी राजधानी कार्यान्वयनका लागि अझै थुप्रै चुनौतीहरू छन् । ल्याण्ड पुलिङको काम सकिएको छैन । स्थायीी राजधानीको क्षेत्रमा रोक्का भएको जग्गा फुकुवा भएको छैन । तपाईँले विश्वासको मत लिँंदै गर्दा रोक्का फुकुवाको आन्दोलन तपाईँकै कार्यालय अगाडि भइरहेकोछ । यसलाई गम्भीरतापूर्वक लिने होइन र ?

हो, हामीले प्रदेश सरकारको स्थायी राजधानी गुरुयोजना निर्माण गरिसकेका छौँ । त्यसै अनुरूप जग्गाको अस्वाभाविक कारोबार भूमाफियाबाट नहोस् भनेर प्रदेश सरकारले स्थायी राजधानी घोषणा गर्नु अघि अर्थात् दुई वर्ष ७ महिना अघि स्थायी मुकाम तोकिएका क्षेत्रका जग्गा कारोबार रोक्का भएको हो । अढाईवर्षसम्म जग्गा कारोबार रोक्का हुँदा राप्ती, गढवा र शीतगंगा नगरपालिकाका केही वडाहरूलाई समस्या भएको मैले पनि अनुभूति गरेको कुरा हो ।

जग्गा फुकुवा नहुँदा त्यस क्षेत्रमा पारिवारिक अंशबण्डा हुनसकेको छैन । जग्गा धितोमा राखेर छोराछोरीलाई पढाउने अवस्था छैन । जग्गा बैंकमा राखेर व्यापार व्यवसाय गर्ने अवस्था छैन । यो विषयमा म नितान्त गम्भीर छु । यस अघि प्रदेश सरकारले स्थायी राजधानीको कार्यान्वयनका सन्दर्भमा गरेको प्रगतिको समीक्षा गरेर चाँडै जग्गा फुकुवाको प्रक्रिया हामीले अघि बढाउने छौँ । मेरो पहिलो प्राथमिकता भनेकै रोक्का जग्गालाई क्रमशः सशर्त फुकुवा गर्ने हो ।

— स्थायी राजधानी गुरुयोजना निर्माण भएको पनि धेरै समय भयो । स्थायी राजधानीका लागि हवाई सेवा पनि अपरिहार्य हुन्छ तर न टरिगाउँ विमान स्थलको स्तरोन्नति हुनसकेको छ न त देउखुरी क्षेत्रमा नयाँ विमानस्थल निर्माणको पहल, यसलाई कसरी लिनुभएको छ ?

हो, हामीलाई सबैभन्दा पहिले दाङ जिल्लामा नियमित हवाई सेवा चाहिएको छ । त्यसका लागि मेरो पहिलो प्राथमिकता भनेको टरिगाउँ विमान स्थलको स्तरोन्नति हो । त्यसका लागि पर्यटन मन्त्रालयमा मैले निरन्तर पहल गरिरहेको पनि छु । अर्को कुरा प्रदेश राजधानीलाई कार्यान्वयन गराइरहँदा देउखुरीमा पनि हवाई सेवा अपरिहार्य हो । त्यसका लागि हामीले मास्टर प्लान गराइसकेका छौँ । देउखुरीकै स्थायी मुकाम क्षेत्रमा हामीले एउटा विमान स्थल निर्माण गर्न पनि नितान्त आवश्यक छ । त्यसका लागि हामी अहोरात्र खटिरहेका छौँ र त्यो काम पनि गर्ने छौँ ।

— स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने तपाईँको यस अघिकै मिशन थियो, यहाँको लोकल रक्सीदेखि गुन्द ्रुक र जडिबुटीसम्मका कुरा उठाउनुभाएको थियो, त्यो अभियानलाई कार्यान्वयनमा कहिले ल्याउनुहुन्छ ?

मलाई लाग्छ, स्थानीय उत्पादनले बजार पाउनसकेको छैन । हामी आयातमुखी अर्थतन्त्रमा छौँ । यही कारण हामीले बर्सेनि लाखौँ युवाहरूलाई विदेश पलायन गराइरहेका छौँ । अब हामीले युवाहरूलाई विदेशमा बेच्ने होइन, यहाँका उत्पादनलाई विदेशमा बेच्ने वातावरण बनाउन नितान्त जरुरी छ । यसमा संघीय सरकारसँग पनि मेरो सहकार्य हुनेछ । लोकल रक्सीलाई ब्राण्डेड गरेर हामीले विदेश निर्यात गर्न पनि सक्छौँ । करको दायरा बढ्नसक्छ । यो विषयमा हामीले सोच्नुपर्ने होइन र ? त्यही कारण मैले धेरै पहिलेदेखि स्थानीय उत्पादनलाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्ने सोच बनाएको हुँ । यसलाई चाँडैभन्दा चाँडै कार्यान्वयन गरिनेछ ता कि यसले आन्तरिक रोजगारीको अवस्था पनि सिर्जना गर्न सकोस् तर अहिले बजारभरि अवैध रक्सीका नाममा लोकल रक्सी बिक्रि भइरहँदा हामीले त्यसबाट राजस्व लिनसकेका छैनौँ । विदेशी रक्सीले वैधानिक बजार लिइरहेको छ । हाम्रो धेरै पैसा रक्सी किन्नकै लागि विदेशिएको अवस्था छ ।

— अन्त्यमा केही भन्न चाहनुहुन्छ?

हामीले टुकी बालेर जनतालाई शिक्षित बनाएका हौँ । शिक्षालाई रोजगारीमा जोड्नुपर्छ भन्ने मेरोलगायत प्रदेश सरकारको चाहना पनि हो । यसका लागि अब हामीले जनतालाई सुशासन र समृद्धि दिने हो । मुलुकको अर्थतन्त्रलाई उकास्ने हो । आत्मनिर्भरमुखी व्यवसायभन्दा पनि हामीले निर्यातमुखी बजार सिर्जना गर्नुपर्ने हो । यसका लागि हामीले निर्यातमुखी अर्थतन्त्रको सिर्जना गर्नुपर्नेछ ।

आन्तरिक रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने छ । यो सन्दर्भमा हामीलाई साथ सहयोग र उत्प्रेरणाका लागि समस्त प्रदेशबासीमा आग्रह पनि गर्दछु । अब हामीले जनतालाई अवस्था परिवर्तनको बेला आएको छ । यसमा आम नागरिक, कर्मचारी, राजनीतिक दलहरू, कर्मचारीतन्त्रलगायत सबैले आत्मसाक्षी राखेर आफूलाई सुधार गरौँ भन्ने मैले यसै पत्रिकामार्फत् भन्न चाहन्छु । म अहिले मुख्यमन्त्री भएको नाताले सबैको साथ र सहयोगको अपेक्षा पनि गर्दछु ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *