घोराही उपमहानगरपालिकाले वडा नम्बर ११ को शिबपुरमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । नगर कार्यपालिका बैठकले प्रत्येक वडामा एक वडा एक शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति पारित गरे अनुसार स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिइएको छ ।
वडाका नागरिकहरुको स्वास्थ्य उपचारलाई पहुँच युक्त बनाउन शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको नगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । कुनैपनि विरामीलाई उपचारबाट बन्चित हुन नपरोस भन्ने हेतुले वडाहरुमा पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्रहरु स्थापना गर्ने क्रम जारी रहेको घोराहीका नगर प्रमुख नरुलाल चौधरीले बताए ।
यसैबीच विहीवार औपचारिक कार्यक्रमको आयोजना गरि वडा नं. ११ को शिबपुरमा शहरी स्वास्थ्य केन्द्रका नगर कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले उद्घाटन गरेकी छन् ।
न्यौपानेले नागरिकलाई निरोगी राख्न तथा घर नजिकै स्वास्थ्य सेवा प्रदान गर्न वडाहरुमा शहरी स्वास्थ्य केन्द्रहरु स्थापना भइरहेको बताइन ।
जटिल प्रकारका रोगीहरुलाई उपमहानगरले पाँच हजार रुपैंया साहेताको रुपमा उपलब्ध गराउदै आएको उनले बताइन ।
शहरी स्वास्थ्य केन्द्रबाट ३२ प्रकारका औषधीहरु निशुल्करुपमा प्रदान गरिने केन्द्रका इन्चार्ज शिबबहादुर कवरले जानकारी दिएका छन् । त्यस्तै प्राथमिक उपचार, गर्भवती जाँच, टिबीको उपचार, परिवार नियोजनका साधन बितरण, परामर्श, खोप लगाएतका उपचार सेवा प्रदान गरिने उनले जानकारी दिए ।