२०८३ बैशाख ७ गते सोमवार

झन्डै २ सय बर्ष अघि ‘वीर गोर्खाली’ले बहादुरीका साथ जितेको जीतगढी किल्लाको संझानाहरु (तस्बिरहरु)


बुटवल, बैशाख ७ ।

झन्डै दुई सय बर्ष पहिले बुटवलस्थित ‘जीतगढी किल्ला’मा ‘वीर गोर्खाली’ले बहादुरीका साथ लडेर जितेको संझनामा बैशाख ७ मा हेरक बर्ष विजय उत्सव मनाइदै आइएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यो वर्षपनि विशेष कार्यक्रमका साथ सुरु भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार बुटवलमा जीतगढी विजय उत्सवको सुरु गरेका हुन । उत्सको उदेश्य ऐतिहासिक जीतगढी किल्लाको संरक्षण, प्रवद्र्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्‍याउनु हो ।
वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको छ । युद्धकला, साहस र रणनीतिक कौशलका आधारमा नेपाली सेनाले विजय हासिल गरेको उक्त घटनाले नेपाललाई विश्वमा ‘वीर गोर्खाली’को रूपमा चिनाएको थियो ।
बुटवलको तिनाउ नदी किनारस्थित जीतगढी क्षेत्रमा भएको युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए । उता अंग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गरेका थिए । युद्धमा नेपाली सेनाका तीन गण सहभागी थिए । इतिहासविदहरुका अनुसार त्यो युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए ।
युद्धका क्रममा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए ।
इतिहासमा बर्णन गरिए अनुसार कर्णेल उजिरसिंह थापाले युद्धअघि विजय प्राप्त भए भगवती मन्दिर निर्माण गर्ने भाकल गरेका थिए । युद्धमा विजयपछि पाल्पामा उक्त मन्दिर निर्माण गरिएको थियो । अहिले पनि हरेक वर्ष भगवती जात्रा निकाल्ने परम्परा कायम रहेको छ ।
चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको यो किल्ला सेनकालीन समयमा १६ औं शताब्दीमा निर्माण भएको मानिन्छ । अंग्रेजसँगको युद्धमा विजय हासिल गरेपछि यसको नाम ‘जीतगढी’ रहन गएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *