२०८३ बैशाख १६ गते बुधवार

चारलेन ठेक्कामा कम्युनिष्टको ज्याजदी बिरुद्ध बिरोधमा उत्रनुहोस : काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी

नारायणपुर, माघ १४ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिंचाइ मन्त्री दीपक गिरीले तुलसीपुर– घोराही– लमही चारलेन सडक निर्माणको ठेक्कामा कांग्रेस सहभागी भैदिएको भए विपक्षिले दिनदिनै सडकमा आगो वालिरहेको अवस्था हुने बताएका छन् । चारलेन ठेक्कामा कम्युनिष्ठ नेताका आफन्त ठेकेदार भै तोकिएको समयमा काम नहुंदा कांग्रेसले खवरदारी समेत गर्न नसकेको नेता गिरीले बताए ।

‘कुनैपनि कांग्रेस समर्थक वा शुभचिन्तक यो ठेक्कामा जोडिएको भए कम्युनिष्टहरुले दिनदिनै सडकमा आगो लगाउथे,’ नेता गिरीले भने ‘तर, हामीले यसको शशक्त विरोध गर्न पनि सकिरहेका छैनौं ।’
नेपाली कांग्रेस निर्वाचन क्षेत्र २ (ख) को कार्यालय शुक्रबार उद्घाटन गर्दै प्रमुख अतिथि नेता गिरीले नेकपा नेता कार्यकर्ता प्रत्यक्ष रुपमा सहभागी भएका कारण जिल्लाकै गौरवको योजनाका रुपमा रहेको चारलेन सडकको स्तरोन्नतीको काम हुन नसकेको दाबी आरोप लगाए । सडकको अवस्थाका बारेमा चौतर्फी रुपमा खवरदारी गर्न नेता गिरीले जिल्ला पार्टी नेतृत्वहरुलाइ आग्रह गरे ।

‘जिल्ला, क्षेत्र, पालिका, प्रदेश तथा वडा तहका समितिहरुले खवरदारी गर्नुस,’ नेता गिरीले प्रश्न गरे ‘चारलेनको काम दुई बर्ष वितिसक्दा पनि किन अर्थपुर्ण रुपमा सुरुवातनै हुन सकेको छैन ।’
नेता गिरीले अव जनतालाइ विकाशको एजेण्डाबाट मात्रै नजिक ल्याउन सकिने तर्क गरे । एमाले–माओवादी गठवन्धनले मुलुकको विकाश निमार्णलाई धरासायी बनाएको भन्दै नेता गिरीले अहिलेको अवस्थाबाट मुलुकलाई निकाश दिन आवस्यक रहेकाले गठवन्धनको जन्म भएको तर्क गरे ।

अहिले प्रमुख प्रतिपक्षी एमाले नै संसद ठप्प पारेर संसदीय अभ्यास माथिनै उपहास गरीरहेको उनले बताए । चौधौ महाधिवेशनले दाङ कांग्रेसको सांगठनिक स्वरुपनै वदलिएको भन्दै नेता गिरीले युवाहरुको नेतृत्वबाट पार्टीले गतिलिने आशा जागेको गिरीले बताए । अव प्राविधिक सर्वेक्षण गरेर मात्रै संगठन विस्तार हुन सक्ने भन्दै नेता गिरीले सर्वेक्षणका आधारमा चुनावमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रमका विशिष्ठ अतिथि तथा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले कांग्रेससंग जनताको धेरै अपेक्षा भएकै कारण रिसाउनेहरु पनि धेरै रहेको तर्क गरे । ‘जहां अपेक्षा हुन्छ, त्यँहा अपेक्षा पुरा भएन भने रिसराग पनि उत्पन्न हुन्छ,’ उनले भने ‘त्यसैले जनताका अपेक्षा सम्वोधन गर्न पनि नितान्त आवस्यक छ।’


तर, राजनीति भनेको हजारले खेती गर्ने र एक जनाले मात्रै बाली भित्राउन पाउने संस्कार भएकाले कसलाई के काममा लगाउने भन्ने विषयमा व्यापक रुपमा समिक्षा हुनुपर्ने नेता घिमिरेले बताए ।

उनले आफु नहुंदाको परीस्थीतिलाइ पनि सहज रुपमा स्वीकार गर्ने अभ्यासको विकाश गर्न पनि जिल्लास्तरका नेता कार्यकर्तालाई उनले आग्रह गरे । सो अवसरमा कांग्रेस लुम्विनी प्रदेश उपसभापति राजु खनालले मुलुकमा तीनै तहका निर्वाचनहरु नजिकिएको भन्दै अव कांग्रेसले केन्द्रीय समितिदेखि टोल समितिसम्म निर्वाचन अभियान सन्चालन गर्नुपर्ने धाराणा राखे ।

अव कांग्रेसले जिल्लामा एमाले नेतृत्वका स्थानीय सरकारहरुले विकाश निर्माणमा गरेका कमिकमजोरी र आर्थिक अनियमितताका विषयमा जनतालाई यथार्थ जानकारी गराउन सक्नुपर्ने पनि उनको भनाई थियो ।
त्यस्तै प्रदेश सहमहामन्त्री खगराज पाण्डेले पार्टीलाई बलियो बनाउन गाउँगाउँसम्म नेतृत्व पुग्न जरुरी रहेको बताए ।

त्यस्तै राष्ट्रियसभा मुख्य सचेतक अनिता देवकोटाले पछिल्लो ६ महिना यता संसद अनिर्णयको बन्दी भैरहंदा राज्यले लगानी गरेर निर्माण गरेका दर्जनौ विधेयकहरु परित हुन नसकेको बताइन् । ‘वा(केपी)का छोराहरुले संसद चल्न दिएका छैनन्,’ उनले भनिन् ‘यसले संसदीय प्रणालिकै उपहास भएको छ।’

त्यस्तै नेपाली कांग्रेस जिल्ला सभापति शंकरप्रसाद डांगीले जिल्ला नेतृत्व अहिले फुटेका मनहरु जोडेर कांग्रेसलाई शशक्त बनाउने अभियानमा लागेको बताए ।

‘अव कांग्रेसलाई बलियो बनाउनुपर्छ भनेर मात्रै हुँदैन,’ सभापति डाँगीले भने ‘ काँग्रेस बलियो बनाउन के गर्नुपर्छ भनेर सवै स्थानीय तहबाट समिक्षा गरेर अघि बढ्न जरुरी छैं।’

त्यस्तै कांग्रेस निर्वाचन क्षेत्र नं ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्काले भाषण ग्रहण र आसन ग्रहणमा धेरै समय खर्च नगरेर गाउँगाउँसम्मका कार्यकर्तामाझ कांग्रेस फेरि एक पटक पुग्न जरुरी रहेको बताए ।

कांग्रेस निर्वाचन क्षेत्र २ (ख) का सभापति अभियान बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भिमप्रकाश खड्काले कांग्रेसका भातृ संगठनहरु चलायमान हुन नसक्दा पार्टी कमजोर भएकाले भातृ संस्थालाई चलायमान बनाउन केन्द्रले आवस्यक मापदण्डसहितको आधारशिला निर्माण गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा कांग्रेस दाङका पूर्व सभापति वीरकेशरी गौतम, पुर्व क्षेत्रीय सभापति भुपवहादुर डाँगी, कांग्रेस तुलसीपुर उपमहानगर सभापति शुरेश हमाल, घोराही उपमहानगरपालिका सभापति तिलक रावत, नेता भरत न्यौपाने, भातृ संस्थाका तर्फबाट तरुणदल दाङका अध्यक्ष टिका घर्ती, वडा सभापतिका तर्फबाट कुलप्रसाद रजौरे (श्रवण), महाधिवेशन प्रतिनिधिका तर्फबाट कमल वली, निर्वाचन क्षेत्र नंवर २ (क)का सभापति प्रकाश श्रेष्ठ, निर्वाचन क्षेत्र ३ (ख) का सभापति खिमबहादुर वली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कांग्रेसको नारायणपुरमा भवन निर्माणार्थ जग्गा प्रदान गर्ने दाता स्वर्गिय लोकबहादुर डाँगीका परिवार तथा भवन निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाइ सम्मान गरिएको थियो ।
प्रदेश २ (ख) का उपसभापति ज्ञानवहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव तिलकबहादुर खत्रीले गरेका थिए ।

त्यसक्रममा प्रदेश क्षेत्रीय सभापति अभियान बस्नेतले आफ्नो माताहतमा रहेका घोराही र तुलसीपुरका गरि १२ वटा वडालाई कार्यालय भवनको व्यवस्थापन गरेर जग उठाए प्रति वडा एक लाख रुपैंयाका दरले व्यक्तिगत सहयोग गर्ने उद्घोष गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *