दाङ, बैशाख २ । पछिल्लो समय फेरि कोरोना भाइरस संक्रमणको हटस्पट बनेको बाँकेमा फेरि भिडभाडहुने क्षेत्रहरु अनिश्चित कालिन रुपमा बन्द गरिएको छ । बिहीवार बेलुकी बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले मानिसहरुको बढी भिडभाड हुने क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको हो । जसमा सिनेमाहल, जिम क्लब, स्वीमिङ पुल लगाएका क्षेत्रहरु रहेका छन् ।
‘मानिसहरुको बढी जमघट र भिडभाड हुने स्थानहरु बन्द गर्ने निर्णय गरेका छौं,’ बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले भने ‘ बिद्यालय बन्द गर्ने कि नगर्ने भन्ने अधिकार स्थानीय पालिकाहरुमा निहित छ ।’ त्यस्तै बाँके जिल्लाका कोरोना फोकल पर्सन तेज वलीले नेपालगञ्जस्थित जमुना नाकामा स्वास्थ्य चेकजाँचमा कडाई गर्नुका साथै अत्याबश्यक बाहेकका आवात जावात बन्द गर्ने निर्णय भएको बताए ।
भेरी अस्पताल नेपालगञ्जमा ६५ बाट आइसोलेनस वाड बढाएर १०० पुगाउने, कोहलपुर मेडिकल कलेजमा तत्काल ५० वार्डको आइसोलेसन स्थापना गर्ने, नेपालगञ्ज मेडिकल कलेजमा यसअघि बन्द गरिएको सेवा पुनः संचालन गर्ने निर्णय बैठकले गरेको फोकल पर्सन वलीले जानकारी दिए ।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले होटेल ह्वाईट हाउसमा १२० बेडको आइसोलेसन वेड निर्माण गर्ने निर्णय पनि गरेको वलीले बताए । प्रत्येक पालिकाहरुलाई आइसोलेसन वार्डहरु निर्माण गर्न, एम्बलेन्स अनिवार्य अवस्थामा तयारी राख्न आग्रह गरिएको उनले बताए ।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले पुनः शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । तर, उस्ले शिक्षा समिति संगको बैठक पछि यसअघिको निर्णय सच्याउँदै आइतवारदेखि एक हप्ता विद्यालय वन्द गर्ने निर्णय गरेको छ ।
नेपालगञ्जकी उमा उपमेयर थापाले शुक्रवार जिल्लाका सबै पालिकाहरुको बैठक बसेर आइतवारदेखि जिल्लाका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गर्ने सल्लाह अनुरुप त्यसो गरिएको जानकारी दिइन ।
