
घोराही, चैत ३१ । घोराही उपमहानगरपालिका वडा नं. १७ पनौरास्थित घोराही कवाड ब्यवस्थापन उद्योगले पुनः प्रयोग हुने फोहरहरु खरिद गर्दै आएको छ । सित्तैमा खेर जाने र वातावरण प्रदुशन गर्ने फोहरहरु उद्योगले खरिद गर्दै आएको छ ।
तीन जना मिलेर गत माघ महिनादेखि पनौरास्थित उद्योगले फोहर संकलन गर्दै आएको छ । उद्योगकी प्रमुख बाल्मी केसीका अनुसार उद्योगबाट मासिक ८ देखि १० लाख सम्मको कारोबार हुने गर्छ । देशका विभिन्न सहरहरु बुटवल, नेपालगञ्ज, भैरहवा लगाएत छिमेकी देश भारतसम्म संकलित फोहर प्रशोधनका लागि पठाउने गरेको पूर्व प्रअ समेत रहेकी केसीले बताइन ।
केसीले ३४ बर्ष बढी शिक्षण पेशामा बिताइन । उनी रिटार्ड हुँदा एउटा बिद्यालयको प्रधानाध्यापक थिइन । ‘म केही नगरी बस्न सक्दिन,’ उनले भनिन् ‘ खेर गइरहेको फोहर बटुलेर मोहर बनाउने सपना अन्तरगत यो उद्योग खुलेको हो ।’गत माघदेखि सञ्चालनमा आएको उद्योगबाट महिनामा ४÷५ ट्रक माल फोहर बाहिर पठाउने गरेको उनले बताइन ।

‘ हाम्रो वातावरण पनि सफा सुग्घर भएको छ,’ केसीले भनिन् ‘ यसबाटै हाम्रो जिविका पनि चलेको छ ।’ त्यसका साथै उनीहरुले उद्योगमा स्थानीय दश जना जति मानिसलाई रोजगारी पनि दिएका छन् ।
केसीले प्लाष्टिक, पानीका बोत्तल, बियरका बोत्तल, सिसा, गत्ता , कागज जस्ता पुनः निर्माण हुने फोहरहरु त्यसै नफाल्न आग्रह गर्दै त्यो आफुहरुले किनिदिने बताइन । ‘तपाँई कहाँ फोहर छ भने हामीलाई खवर गर्नुहोस,’ उनले भनिन् ‘ हामी आफ्नै गाडी लिएर आउँछौं र तपाँईको फोहरलाई पैंशाले किनिदिन्छौं ।’
हालसम्म मधेशी मुलका मानिसहरुले मात्रै फोहर संकलन गर्ने गरेकोमा केसीसहित तीन जनाले मिलेर उद्योग सञ्चालन गरेपछि त्यहाँ कार्यरत कर्मचारीहरु समेत गाडी लगेर गाउँ घरमा फोहर संकलन गर्न जान थालेपछि स्थानीय पनि खुसी हुने गरेको दाबी केसीले व्यक्त गरिन ।
