२०८२ मङ्सिर २७ गते शनिवार

बाबु मेयर, छोरा ठेकेदार, चारलेन नबनेको दोष काँग्रेसमाथि थोपार्नु गलतः डिल्लीबहादुर चौधरी

तुलसीपुर, असोज २५ । दाङ क्षेत्र नं. ३ (१) मा गठबन्धन दलबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरीले नेकपा एमालेका नेताहरुले आफूले काम बिगारेर दोष जति नेपाली काँग्रेस र गठबन्धनमाथि थुपार्न खोजेको बताएका छन् ।

मंगलबार तुलसीपुर–६ स्थित सम्पर्क कार्यालयमा नगर, वडा, पालिकाका पदाधिकारीहरुसँग सुझाव संकलन तथा रणनीति निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेतासमेत रहेका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीका ब्यक्तिहरुको कमजोरी ढाकछोप गर्न झुट बोलिरहेको आरोप लगाए ।

‘मैले शंकरजीले बोलेको एउटा भिडियो क्लिप हेरे,’ उम्मेदवार चौधरीले भने ‘उहाँले कति सफेद झुट बोल्नु हुँदोरहेछ भनेर दंग परे ।’ लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रीसमेत रहेका उम्मेदवार चौधरीले सर्वसाधारण मतदातालाई भुलभुलैयामा पार्न सकिन्छ कि ? भनेर एमाले नेतृत्व सरासर झुट प्रचारमा लागेको आरोप लगाएका थिए ।

‘बाबु मेयर अनि ठेकेदार छोरा उनकै, दुई तिहाई सरकार पनि उनीहरुकै अनि चारलेन नबनेको दोष काँग्रेसमाथि थोपर्न खोज्नु मजाग हैन,’ उम्मेदवार चौधरीले भने ‘चारलेनका नाममा मनपरी खोला दोहन गरी सर्वहारा वर्गका नेता भनाउँदाहरुले राज्यको ठूलो राजस्वमात्रै छली गरेनन् करोडौं रकम कुम्लाएका छन् ।’

त्यतिमात्रै नभई तुलसीपुरका यसअघिका मेयरले तुलसीपुर उपमहानगरपालिकाबासीलाई करौंडौं ऋणमा डुबाएको उम्मेदवार चौधरीले आरोप लगाए । ‘मेरो पहिलो प्राथमिकता विकास हो,’ उनले थपे ‘अहिले सबैभन्दा बढी बजेट लुम्बिनीमा दाङले पाएको छ । मैले यो निर्वाचन क्षेत्रका लागि मात्रै २ अर्ब ८० करोड जति बजेट बिनियोजन गरेको छु ।’

त्यस्तै उनले कम्युनिष्टहरुले सर्वहारा वर्गको पार्टी भन्ने गरेपनि उनीहरुले गरिबमाथि शोषण दमन र अत्याचार गरेर राजनीति गर्दै आएको आरोप लगाए । ‘काँग्रेसले गरिबलाई धनी कसरी बनाउने भनेर सोच्छ,’ उनले भने ‘तर, उनीहरुले गरिब र जनजातिमाथि राजनीति टेकेर राजनीति गर्दै आएका छन् ।’

उनले जनजातिहरुको पेशा तथा सीपको उत्थान र विकासका लागि थप १० करोड रकम विनियोजन गरेको चर्चा गरे ।
२०७४ सालको निर्वाचनमा पनि मतदाताको स्नेहकै कारण आफू साविक राप्तीमै एक्लै निर्वाचित भएको भन्दै उनले आफू निर्वाचित भएपछि यसक्षेत्रको विकास निर्माणमा दत्तचित्त भएर लागेको बताए । ‘मैले कुनैपनि मतदाताको शिर झुक्न कहिल्यै दिनेछैन,’ उनले भने ‘कदापि नेपाली काँग्रेसको झण्डा हल्लिन दिने छैन ।’

आफूले अहिले पनि प्रदेश सरकारमा बसेर गठबन्धनको मर्म र संस्कृति अनुसार काम गर्दै आएको भन्दै गठबन्धन केपीको तानाशाहविरुद्ध, संविधानको रक्षा र शान्ति अमनचयनको लागि भएको भन्दै सोही भावनाका साथ गठबन्धन दलका सबैलाई विजयी गराउन आग्रह गरे ।

उनले ब्यक्तिगत रुपमा आफ्ना र अन्य उम्मेदवारका पनि केही कमिकमजोरी हुन सक्ने भन्दै अब भविष्यमा त्यसलाई सुधार्दै लैजान प्रण गरे । यो समयमा सबै एकाकार भएर हिड्न तथा परिचालन भएर अगाडि बढ्न आवश्यक रहेको उनले बताए । ‘जित मेरो हैन समग्र पार्टी र तपाईको जित हुनेछ,’ उनले भने ‘यदि हारे भने त्यो हार मेरो मात्रै हुने छैन समग्र पार्टी र तपाईको पनि हार हुनेछ ।’

प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *