२०८१ बैशाख २२ गते शनिवार

बुटवलमा गर्भवती महिलालाई भिडियो एक्सेर सेवा निःशुल्क

बुटवल,साउन १९ । बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ।

बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गरेका हुन ।

सेवा शुरु भएको घोषणा गर्दै नगर प्रमुख पाण्डेयले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गरिरहेको बताउँदै शिशु पोषण कार्यक्रमअन्तरगत २ हजार रुपैयाँ, महिलाहरुको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताए ।

उनले बुटवल उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थाहरुलाई अझ सुविधासम्पन्न बनाउने र छिटै नै बुटवल १३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन हुने बताए ।

उनले महिलाहरुको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर नियमित रुपमा स्वास्थ्य परीक्षण शिविरहरु सञ्चालन गरिरहेको बताए ।

उनले चालु आर्थिक वर्षमा जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने, गर्भवती तथा सुत्केरी महिलाहरुलाई दुग्धवर्धक जटिबुटीजन्य सामग्री प्रदान गर्ने र दन्त शिविरहरु सञ्चालन गर्ने कार्यक्रम रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरी, वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठ, ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बोल्दै बुटवलमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए ।

अबदेखि बुटवलका १२ वटै स्वास्थ्य संस्थामध्ये बुद्धनगरको शहरी स्वास्थ्य संस्थामा हरेक महिना तीन दिन र अन्य संस्थाहरुबाट हरेक महिना एकदिन गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले बताए ।

बुटवलका बासिन्दाका लागि लक्षित भएकाले सेवाग्राहीको चापलाई ध्यानमा राखेर सेवा विस्तार गर्ने उनले बताए ।

सेवाग्राहीको चाप र मागअनुसार सबै स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा निशुल्क सेवा दिने गरी तयारी भइरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *