२०८३ बैशाख ६ गते आइतवार

भारतद्वारा नेपाललाई दुई सय थान मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण

काठमाडौं, फागुन ८ । भारत सरकारले नेपाल सरकारलाई मिर्गौला डायलाइसिस मेसिन सहयोग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेका हुन ।

करिव एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेशिन उपलब्ध गराउन अनुरोध गरेको थियो ।

समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे ।

सो अवसरमा उनले २०७२ मा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोगको नेपाल राष्ट्र र नेपाली जनताले स्मरण गरिरहने बताए ।

मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदैआएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने उनको भनाइ छ ।

उनले भने, ‘दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापित भएको ७६ वर्ष पूरा भएको छ । यसबीचमा दुई मुलुकबीच सरकार–सरकार बीचमा मात्रै नभई जनताको स्तरमा पनि सुमधुर सम्बन्ध रहँदैआएको छ ।” दुई मुलुकबीच आर्थिक, सामाजिक सबै रुपले सम्बन्ध घनिष्ट रहेको उनले चर्चा गरे ।

भूकम्प र कोभिडको समयमा पनि भारत सरकारबाट भएको सहयोग महत्वपूर्ण र सराहनीय रहेको उनले बताए ।

“यो सहयोगका लागि म भारतीय राजदुतावासमार्फत् भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु ।”

नेपालका लागि भारतीय राजदुत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउनेगरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए ।

नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धता उनले व्यक्त गरे । नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाइ छ ।

नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्ने उनले बताए । भारत नेपालको छिमेकी मात्रै नभई विकास साझेदार राष्ट्र भएको उनले बताए ।
नेपालको विकासका सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दैआएको उनको भनाइ छ ।

नेपालको ट्रमा सेन्टर निर्माण, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सहयोग पनि भारत सरकारले गरेको छ ।

भूकम्पका बेला १३२ वटा हेल्थपोष्ट निर्माणमा पनि भारतले सहयोग गरेको उनले चर्चा गरे । कोभिड भ्याक्सिनमा पनि भारतले नेपाललाई सहयोग गरेको छ । भारत सरकारको तर्फबाट असल छिमेकीको तर्फबाट नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकासका लागि सधैं अग्रसर हुने पनि उनले बताए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *