हुम्ला, भदौ २९। हुम्लामा चार दिनयता ज्वरो आउने र रुघाखोकीका बिरामी बढेका छन्। यस्ता बिरामीको सङ्ख्या बढेपछि अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप वृद्धि हुन थालेको छ।
स्वास्थ्यकर्मी प्रेम भण्डारीले तीन÷चार दिनयता अस्पतालमा आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको बताए । दैनिक एक सयभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकीका बिरामी आउने गरेको जानकारी उनले दिए ।
अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये जटिल अवस्थाका बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको छ। उनले वर्षा भइरहेको र चिसो बढेका कारण पनि यस्ता बिरामीको सङ्ख्यामा वृद्धि भएको बताए ।
अस्पतालमा रहेका शय्या भरिएर थप शय्या व्यवस्था गरी बिरामीको उपचार गर्नु परिरहेको अस्पतालले जनाएको छ।
कोरोनाका बिरामीलाई उपचार गर्न टाँगिएका पालमा समेत शय्या राखेर उपचार गरिएको छ। ४० भन्दा बढी बिरामीको दैनिक ल्याब परीक्षण गर्ने गरिएको छ।
भाइरल ज्वरोका बिरामी अस्पतालमा मात्र उपचार गर्न आउने नभएर सिमकोट गाउँपालिकाका १३ वटै स्वास्थ्य संस्था उस्तै रहेको पाइएको छ।
यता खार्पुनाथ गाउँपालिकामा कायरत स्वास्थ्यकर्मी जय जेठाराले पनि गाउँपालिकाका सबै स्वास्थ्य चौकी र संस्थामा भाइरल ज्वरोको बिरामी बढेको बताए ।
ताँजाकोट गाउँपालिकाको मैला स्वास्थ्य चौकीमा इन्चार्ज धनराज ढकालले मौसम परिवर्तन भएको कारण मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या सबै स्वास्थ्य संस्थाहरूमा वृद्धि भएको बताए ।
यो अवस्था सर्केगार्ड, चङ्खेली र अदानचुली गाउँपालिकामा पनि उस्तै रहेको स्वास्थ्यकर्मीले बताएका छन्।