देउखुरी , माघ २२ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बिहीबार बसेको छ । बैठकले वन ऐन संशोधन विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको अस्थायी संगठन संरचना स्वीकृत गरेको छ ।
त्यस्तै आर्थिक वर्ष २०८२ /०८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार बैठकले वन तथा वातावरण मन्त्रालयले पेश गरेको प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।
बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पेश भएको ज्ञान व्यवस्थापन तथा संस्थागत स्मृति हस्तान्तरण सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।
साथै, बैठक प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ पनि स्वीकृत गरेको छ ।