घोराही, माघ १९ । दाङ– २ मा नेपाली काँग्रेसका उम्मेदवार किरणकिशोर घिमिरे मतदाताका सुझाव संकलन गर्न गाउँ बस्तिमा पुग्न थालेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका उम्मेदवार घिमिरेले आम मान्छेका भावना र चाहाना बुझ्न घर दैलोमा पुगेर मतदाताका भावना संकलन अभियान गरि रहेका छन् ।
घिमिरेले मतदातासँग प्रत्यक्ष भेटघाट गरि गुनासा सुन्ने सुझाव संकलन गर्ने र आफ्ना भावि योजनाहरू मतदाता समक्ष प्रस्तुत गर्दै आएका छन् ।
सोमबार उनले आफ्नो निर्वाचन क्षेत्र अन्तगर पर्ने तुलसीपुर उपमहानगरपालिकाका वडा नं.–१६, १७ र १८ का स्थानीयसँग भेटेर सुझाव संकलन गरेका हुन ।
भेटघाटका क्रममा स्थानीयले सर्वसाधारण मतदाताले काँग्रेस उम्मेदवार घिमिरेलाई भाषण र आश्वासन भन्दा निर्वाचित भएपछि व्यवहारिक रुपमा समस्या पहिचान गरि सोही अनुरुप विकास निर्माणका काममा ध्यान दिन सुझाएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१८ की खिमा घर्तीले काँग्रेस उम्मेदवार किरण किशोरलाई निर्वाचनको समयमा आश्वासन मात्रै बाँड्ने नभइ दुःख पर्दा साथ दिन आग्रह गरेकी थिइन ।
उनले निर्वाचित भइ सकेपछि सिंचाइको उचित प्रबन्ध, फराकिला र चिल्ला बाटा, उत्पादिन बस्तुको उचित बजारीकरण, गाउँ टोलको शान्ति सुरक्षामा ध्यान दिन सुझाएकी थिइन ।
कतिपय मतदाताले सडक, खाने पानी, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत आवश्यकता अझै अधुरै रहेको भन्दै काँग्रेस उम्मेदवार किरणकिशोरको ध्यानाकर्षण गराएका थिए ।
स्थानीयका गुनासा सुनेपछि उम्मेदवार घिमिरेले आफू भाषणका लागि होइन, जनताको सुख–दुःखमा साथ दिन आफ्नो व्यवसाय छोडेर राजनीतिमा आएको हुँदा निर्वाचित गराए सोही अनुरुप आम जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जाहेर गरेका थिए ।
उनले फेरि पनि संभव भएसम्म आउने र थप केही गुनासा भए संकलन गर्न आग्रह गरेका थिए ।