दाङ, पुस २८ । नेपाली कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई असर पर्ने कुनैपनि गतिविधि नगर्न आग्रह गरेका छन् ।
भृकुटीमण्डपमा असन्तुष्ट पक्षको विशेष महाधिवेशन जारी रहँदा खड्काले सोमबार दिउँसो विज्ञप्ती जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनैपनि गतिबिधि नगर्न आग्रह गरेका हुन ।
उनले कांग्रेसका सबै तह र तप्काका सदस्यलाई मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुन आग्रह गरेका छन ।
कार्यबहाक सभापति खड्काले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरे पछि आगामी २०८३ वैशाखमा हुने १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको पनि स्पष्ट पारेका छन् ।
फागुन २१ गते निर्वाचन तय भएको अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने उनले उल्लेख गरेका छन् ।
देशमा बिषम परिस्थिति उत्पन्न भएको बेला इतिहासको विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्यांकन गरी काँग्रेसले खेलेको भूमिकाको पनि कार्यबहाक सभापति खड्काले स्मरण गराएका छन् ।
राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा कांग्रेसीहरूको काँधमा फेरि ऐतिहासिक जिम्मेवारी आएको हुँदा त्यो तथ्य नभूल्न आग्रह गरेका छन् ।