दाङ, असार २३ । चिकित्सकको आन्दोलनका कारण अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा ठप्प भएका छन् । जस्का कारण बिरामी मर्कामा परेका छन् ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाको बिरोधमा चिकित्सक आन्दोलित भएका हुन ।
उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेपछि त्यसको बिरोधमा चिकित्सक आन्दोलनमा उत्रिएका हुन ।
नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरि आन्दोलनमा उत्रिएको छ ।
चिकित्सकको आन्दोलनको असर दाङमा पनि बिरामीले इमर्जेन्सी बाहेक अन्य क्षेत्रको उपचार पाउन सकेका छैनन् ।
नेपाल चिकित्सक संघको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगाएत सबै सरकारी तथा निजी अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा चिकित्सकले ठप्प पारेका छन् ।
चिकित्क संघले असार १९ गते विभिन्न अस्पताल प्रमुख, मेडिकल र डेन्टल कलेज, चिकित्सक तथा स्वास्थ्यकर्मी संघ–संगठनहरू सँगको छलफलपछि आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।