दाङ, मंसिर १। दाङको कर्णाली भनेर चिनिने बबई गाउँपालिका वडा नम्बर ७ मलइमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
सामाजिक संस्था तुलसीपुर नगर जेसिजले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
शनिबार भएको शिविरमा १७० जनाले निशुल्क स्वास्थ्य सेवा लिएको तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णबिक्रम डाँगीले बताए ।
तुलसीपुरदेखि करिब ३० किलोमिटर टाढा पर्ने मलइमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा दाँतको उपचार, आँखाको उपचार, महिलामा देखिने विभिन्न प्रकारका स्वास्थ्य समस्या लगायतका सेवा प्रदान गरिएको हो ।
अध्यक्ष डाँगीले विषेशज्ञ स्वास्थ्य सेवा लिन समस्यामा रहेका नागरिकलाई विषेशज्ञ डाक्टरसहितको टोलिले गाउँमै स्वास्थ्य सेवा प्रदान गरेको बताए।
देउती माविमा संचालित शिविरमा मलइ र आसपासका नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।
जेसिजले संचालन गरेको स्वास्थ्य शिविरले निकै सहज बनाएको स्थानीय बबई–७ निवासी ७६ वर्षिय बम बहादुर बुढाले बताए। उनले आगामी दिनमा पनि स्वास्थ्य शिविर संचालनलाई निरन्तरता गरिनुपर्नेमा जोड दिए ।
यस्तै जलजला गाउँ निवासी रोमा बस्नेतले पनि गाउँमै विशेषज्ञ सेवा लिन पाउँदा खुशी व्यक्त गरिन । स्वास्थ्य उपचार लिनका लागि तुलसीपुर वा अन्य ठाउँमा जानुपर्ने अवस्था रहेको बताउँदै उनले गाउँमै निशुल्क स्वास्थ्य जाँच गराउन पाउँदा सहज भएको बताइन ।
यस्तै कानको समस्या डाक्टरलाई देखाउन पाउँदा स्थानीय ५६ वर्षिय गोपाल खड्काले पनि खुशी व्यक्त गरे ।
शिविरमा स्वास्थ्य जाँचसंगै निशुल्क औषधि पनि वितरण गरिएको हो । शिविरमा कतिपयको जटिल अवस्था भएकाले थप उपचारका लागि सुझाव प्रदान गरिएको डाक्टरहरुले बताएका छन् ।
स्वास्थ्य कार्यक्रम संयोजक गोविन्द केसीले ग्रमिण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा निकै खुशी लागेको बताए ।
बबई गाउँपालिका वडा नम्बर ७ को सहकार्य, तुलसीपुर उपमहानगरपालिकाको समन्वय, मेट्रो सिटी पोलिक्लिनिक तुलसीपुर,तुलसीपुर सिटी हस्पिटल, राप्ती आँखा अस्पताल रक्षाचौर, मनकामना डेण्टल प्रालि तुलसीपुर, रौनियार पोलिक्लिनिक प्रालि तुलसीपुरको प्राविधिक सहयोगमा तुलसीपुर नगर जेसिजले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णबिक्रम डाँगीको अध्यक्षता तथा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको प्रमुख आतिथ्यता एवं बबई गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तिलकराम भण्डारीको विशिष्ट आतिथ्यतामा शिविरको उद्घाटन कार्यक्रम भएको हो ।
त्यस अवसरमा गाउँपालिका अध्यक्ष खत्री क्षेत्रीले नागरिक स्वस्थ भएमात्रै अरु विकासको संभव हुने भन्दै शिविरले नागरिकलाई स्वास्थ्य सचेतनामा थप वृद्धि गर्ने बताए ।
यस्तै वडा अध्यक्ष भण्डारीले मलइ गाउँ भौगोलिक हिसावले पनि ग्रामिण क्षेत्र भएकाले नागरिकको सहजताका लागि गाउँमै विषेशज्ञ सेवासहितको निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने रोग धेरै देखिन थालेकाले समय–समयमा स्वास्थ्य जाँच गराउन नागरिकलाई सुझाव दिए ।
कार्यक्रम संयोजक बसन्त योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष झरेन्द्र खरेल, मोहन सुनार,केशवराज केसी, दिपेश भण्डारी, पत्रकार दिपक बोहरा लगायतले शिविरबाट नागरिकले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गरेको बताए ।
कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिजका सल्लाहकार बुद्धि सापकोटाले गरेका थिए ।