२०८१ मङ्सिर १९ गते बुधवार

प्रतिष्ठानमा थपियो अनुहारको शल्य चिकित्सा सेवा

सन्तोष खनाल,घोराही,कार्तिक २६ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख तथा अनुहारको शल्य चिकित्सा सेवा शुरु भएको छ । साविक राप्ती अञ्चलमै पहिलो पटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा शुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।

मुख तथा अनुहार शल्य चिकित्सक लेक्चरर डा. निरोज खनालको नेतृत्वमा मुख तथा अनुहारको शल्य चिकित्सा सेवा शुरु भएको हो । डा. खनालले दाँतको सेवासँगै मुख तथा अनुहारको शल्य चिकित्सा सेवा शुरु भएको जानकारी दिए ।

उनले कस्मेटिक सर्जरी, अनुहारको सिस्ट ट्युमरको उपचार, मुख तथा अनुहारको क्यान्सरको निदान, परामर्श र बायोप्सी, ओठ तथा तालु चिरेको फेसियल क्लेफ्ट, दुर्घटनाका कारण अनुहारको हड्डी बिग्रिएको उपचार, अर्थोग्नाथोक सर्जरी तथा अनुहारको जोर्नी सम्बन्धी सम्पूर्ण उपचार शुरु भएको जानकारी दिए ।

डा. खनालले दाँतको सबै उपचारसमेत भइरहेको जानकारी दिए । दाँत निकाल्ने, दाँत भर्ने, सफा गर्ने, बांगो टिङ्गो मिलाउने, तार बान्ने लगायतको सेवासँगै मुख तथा अनुहारको शल्य चिकित्सा सेवा पनि प्रतिष्ठानमा शुरु भएको हो । ‘दाँतको सबै सेवा थियो, अब मुख तथा अनुहारको शल्य चिकित्सा सेवा शुरु भएको छ’– उनले भने– ‘साविक राप्तीमै प्रतिष्ठानमा पहिलोपटक सेवा शुरु भएको हो, अब मुख तथा अनुहारको शल्य चिकित्साका लागि बाहिर जाने बाध्यता हटेको छ ।’

उनले दाँतको एक्सरे, हड्डीको सिटी स्कृनिङलगायतको सुविधा भएको कोन विम सिटी उपकरण ल्याउने तयारी समेत भएकोले उपचारमा थप सहज हुने बताए ।

दन्त विभागमा रहेको जनशक्तिले मुख तथा अनुहारको शल्य चिकित्सा सेवा पनि दिने छ । जसका लागि दुईजना कन्सल्टेन्ट, दुईजना मेडिकल अफिसर, एकजना असिस्टेन्ट र दुईजना हेल्परको टिम छ ।

दैनिक ४०–५० जना दन्त विभागमा जाने बिरामीमध्ये ५–१० जना मुख तथा अनुहारको शल्य चिकित्सा सेवा लिने रहेको डा. खनालले जानकारी दिए । उनले भर्खरै अनुहारको तल्लो हड्डी दुई ठाउँबाट भाँचिएको दुर्घटनाका बिरामीको तीनवटा टाइटानियम प्लेट राखेर दुई घण्टा भन्दा लामो शल्यक्रिया गरी निको गराएर पठाएको पनि जानकारी दिए ।

साथै अनुहारमा चोट लागेर रगत जमेको विरामीको पनि जमेको कालो रगत निकालेर उपचार गराई निको गराएर पठाएको जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाई शुरु भएसँगै उपचार सेवा पनि विस्तार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *