घोराही, असोज १४ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिमा बाफतको करोडौं रकम भुक्तानी दिन सकेको छैन । बिमा उपचार सेवाका कारण ऋणमा परेको भन्दै बिमा उपचार सेवा नै रोक्नु पर्ने अवस्था आएको प्रष्ठिान प्रशासनले जनाएको छ ।
सोमबार स्थानीय राजनीतिक दलका प्रमुख, प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, मानवअधिकारकर्मी, नागरिक समाजसहित प्रतिष्ठानमा भएको सर्वपक्षिय छलफलमा ऋणमा परेको भन्दै बिमितको उपचार गर्न नसकिने अवस्था सिर्जना भएको प्रतिष्ठान प्रशासनले अबगत गराएको हो ।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बिमा उपचार सेवा तथा डायलासिस र सिकलसेल उपचारबापत सरकारले प्रतिष्ठानलाई १२ करोड १५ लाख ८४ हजार ४ सय ६७ रुपैयाँ भुक्तानी नदिएको बताएका थिए ।
सरकारले भुक्तानी नदिँदा औषधी सप्लायर्सहरुलाई पनि भुक्तानी दिन नसकेको उनले स्पष्ट पारे ।
भुक्तानी दिन नसक्दा उपचार सामाग्री नै नपाउने अवस्थाले उपचार रोकिने अवस्था आएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बताएका थिए ।
प्रतिष्ठानले औषधी सप्लायर्सलाई मात्रै १३ करोड ४२ लाख ५ हजार ५ सय ७८ रुपैयाँ तिर्न बाँकी रहेको उनले जानकारी दिएका थिए । त्यसक्रममा रसायन तथा सर्जिकल एशोसिएसन दाङका अध्यक्ष बालकुमार घर्तीले आँफुले मात्रै प्रष्ठिानबाट ६ करोड रकम भुक्तानी पाउनु पर्ने अवस्था रहेपनि त्यो नपाउँदा ब्यबसाय नै धरापमा पर्ने अवस्था सृजना भएको बताएका थिए ।
घर्तीले प्रतिष्ठानले अबिलम्ब भुक्तानी नदिए सर्जिकल तथा रसायन अस्पतालाई उपलब्ध गराउन नसक्ने बताएका थिए ।
बैँक ऋण बोकेर उपचार सामग्री उपलब्ध गराएको भएपनि प्रतिष्ठानले ६ करोड बक्यौता राख्दा अब थप औषधीजन्य वस्तु अस्पताललाई दिन नसक्ने उनको भनाइ थियो । तर, आर्थिक समस्यालाई हल गर्न पहल गर्ने आश्वासन दिदै राजनीतिक दल र तीनका प्रतिनिधिहरुले भने बिमा बाफतको सेवा प्रतिष्ठानलाई नरोक्न आग्रह गरेका थिए ।
छलफलमा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, तुलसीपुर उपममाहनगरका मेयर टीकाराम खड्का, घोराहीका उपमेयर हुमा डिसी, दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेकपा एमालेका अध्यक्ष शिवकुमार आचार्य, नेपाली काँग्रेसका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा (माओवादी) केन्द्रका सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, नेकपा विप्लवका जिल्ला इन्चार्ज सविन पोख्रेल, नेकपा बहुमतका जिल्ला सक्रेटरी अमर खड्का, मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्मा, नागरिक समाज दाङका पूर्ब संयोजक चन्द्रराज पन्त, सचिव नारायण श्रेष्ठ, मानबअधिकारकर्मी जयानन्द शर्मा, चिन्तामणि पौडेल, जेष्ठ नागरिक सरोकार केन्द्रका उपाध्यक्ष हरिप्रसाद पाण्डे, तत्कालिन राप्ती उपक्षेत्रिय अस्पताल बिकास समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, बिश्वराज न्यौपाने, पत्रकार शरद अधिकारी लगायतले उपचार रोकिन नहुने भन्दै रकम भुक्तानीका लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।