तुलसीपुर,भदौ ३० । पोषणमार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत तुलसीपुरमा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति तथा सरोकारवालासँग बैठक तथा छलफल कार्यक्रम भएको छ ।
वेस, एचआइटीको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा भएको कार्यक्रममा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी जानकारी गराइएको थियो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको अध्यक्षता एवं उपमहानगर प्रवक्ता तथा तुलसीपुर–१८ का वडाध्यक्ष माधव वली, सुशासन समिति संयोजक धर्मराज वली, वडा १६ का अध्यक्ष शिवानन्द डिसीलगायतको आतिथ्यमा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रमका अध्यक्ष मेयर खड्काले बजारमा पाइने विषादीयुक्त तरकारी, जंकफुड, केमिकल राखेको जुस खानाले नै मानव स्वास्थ्यमा गम्भिर असर गरेको बताए ।
उत्पादनमुखी व्यवसायका कारण बढ्दो विषादी प्रयोग गरेको खाना विशेषगरी सुत्केरी र बालवालिकालाई प्रत्यक्ष असर पारेका बताए ।
त्यस्तैगरी परियोजनाका केन्द्रीय निर्देशक राजन मण्डलले विश्वका देशहरुमध्ये सबैभन्दा कमजोर बौद्धिक क्षमता भएको नेपाली नागरिक रहेको बताए ।
उनले बालवालिकाको स्वास्थ्यप्रति बुवाआमाको गलत सोचाइ र कुपोषणकै कारण बौद्धिक क्षमतामा कमी आउने बताए ।
परियोजनामार्फत सबैको सहयोगले तुलसीपुर क्षेत्रका बच्चा र आमाको स्वास्थ्यमा केही परिवर्तन गर्ने गरी काम गर्नुपर्ने बताए ।
तुलसीपुर स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेशका वरिष्ठ परियोजना अधिकृत भरत शर्माले कुपोषणका बारेमा जानकारी गराएका थिए ।
उनले कुपोषणको वर्गीकरण, कुपोषण हुने कारण र कुपोषणका प्रभावबारे स्पष्ट पारे ।
त्यस्तैगरी वेस संस्थाका शुरेस चौधरीले परियाजनाका लक्ष्य, कार्यक्रम तथा गतिविधिहरुलगायतका विषयमा जानकारी गराए ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक बिमल केसीले गरेका थिए ।
