तुलसीपुर,असोज ९ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले वार्षिक प्रगती समिक्षा कार्यक्रम गरेको छ ।
अस्पतालले मंगलवार कार्यक्रमका बिच आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समिक्षा गरेको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले राप्ती प्रादेशिक अस्पताल रिफर सेन्टर मात्रै हो भन्ने आम नागरिकको बुझाईलाई चिर्न जरुरी रहेको बताए ।
उनले अस्पतालमा आएका चुनौतीहरुलाई सामाना गर्दै सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए । अस्पतालको सेवालाई सामान्य नागरिकको पहुँच सम्ममा पु¥याउनका लागि अस्पतालमा आवश्यक पर्ने थप जनशक्ती व्यवस्थापनमा प्रदेश र संघिय सरकारसगं पहल गर्ने प्रतिबद्धता जनाए ।
साथै नगरप्रमुख खड्काले अस्पतालको अतिक्रमित जग्गालाई हटाउन सहयोग गर्ने बताए ।
अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेसु डा. ओम प्रसाद अर्यालले आइसियु सञ्चालनका लागि सामान आएपनि जनशक्ती अभावका कारण त्यसलाई सञ्चालन गर्न नसकेको बताए ।
उनले स्वास्थ्य सेवालाई बढाउन जनशक्तीको लागि पटक–पटक मन्त्रालयमा माग गरेको भएपनि अहिलेसम्म पनि जनशक्ती प्राप्त नभएको बताए ।
त्यस्तै अस्पताल विकास समितिका पुर्व अध्यक्ष रुद्रमणी शर्मा,स्वास्थ्य कार्यालय दाङका रिता न्यौपाने ,पत्रकार जित सागर जिएम लगाएतले अस्पतालको विकासका लागि सबै सरोकारवाला गम्भिर र जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा अस्पतालका मेडिकल रेकर्डर भुषण सुवेदीले अस्पतालले वार्षिक रुपमा गरेका गतिविधीहरुको बारेमा जानकारी गराए । उनले वितेको आर्थिक वर्ष २०७९÷०८० मा अस्पतालबाट ९१ हजार ३सय ८३ जना बिरामीले सेवा लिएको बताए ।
ति मध्ये ६१ हजार ६ सय ८१ जना महिला र २९ हजार ७ सय २ जना पुरुष रहेका छन । सेवा लिनेमा महिलाको संख्या धेरै छ । त्यस्तै उनले वितेको एक वर्षमा २ हजार ७ सय ३२ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई सेवा दिएको बताए ।
उक्त कार्यक्रमको सहजीकरण अस्पतालका धन बहादुर केसीले गरेका थिए ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २ सय सैयाको अस्पताल बनाउने भनिएपनि हाल जनशक्ती अभावका कारण १ सय ४१ सैया मात्र सञ्चालन भैरहेको अस्पतालले जनाएको छ ।