२०८१ बैशाख २१ गते शुक्रवार

दाङमा डेँगुका बिरामी देखिन थाले


तुलसीपुर,साउन ६ । दाङ जिल्लामा डेँगुका बिरामीहरू देखिन थालेका छन् । गत जेठ ७ गतेदेखि साउन ४ गतेसम्म ४ जना बिरामीहरूलाई डेंगु पुष्टि भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।

ति बिरामीहरू मध्य अहिले एक जना अस्पतालमा भर्ना भएको र अरु बिरामीहरूका सामान्य लक्षण देखिएको हुँदा असर नपर्ने भएकाले औषधि दिएर डिस्चार्ज गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए ।

उनका अनुसार डेंगु विशेषगरी साउन देखि मंसिर महिनासम्म बढि देखिने भएकाले गत आर्थिक वर्षको साउन देखि मङ्सिरसम्म १५१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।

७ सय जना बिरामीहरूलाई परीक्षण गर्दा १५१ जनामा डेंगु देखिएको समेत उनले बताए । उनले भने,‘ बर्खायामको सुरुवातसँगै अब डेँगुको बिरामीहरू बढ्ने क्रम जारी रहेको छ । अहिले पनि अस्पतालमा आएका एक सय जना बिरामीहरूको स्वास्थ्य परिक्षण गर्दा एक / दुई जनामा देखिएको छ । ’

डेंगु सार्ने लामखुट्टेले अहिले विशेष गरी बिहान र साँझको समयमा पछाडिबाट शरीरका नाङ्गो भागमा टोक्ने भन्दै उनले यसबाट बच्नको लागि घर आँगन सफा राख्नु पर्ने र लामो कपडा लगाउनु पर्ने र सुत्दा झुलको प्रयोग गर्नु समेत बताए ।

डेंगु लागेका बिरामीहरूलाई साधारणतया रुघाखोकी लाग्ने, आँखा रातो हुँदै जाने, शरीर दुख्ने, टाउको दुख्ने, खाना मन नलाग्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिने समेत उनले बताए ।

उनका अनुसार शरीरमा डेंगु धेरै संक्रमित हुँदै गएमा रगत जम्मा गर्ने तत्व प्लेटलेट्स कमी हुँदै जाने र शरीरमा विविराहरू आउने आन्तरिक रगत बग्ने हुँदा बिरामीको ज्यान जान सक्छ ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *