२०८२ माघ ४ गते आइतवार

राज्यले स्वास्थ्यलाई निःशुल्क गर्नुपर्छ : मन्त्री मास्की


दाङ,असार १६ । लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले राज्यले स्वास्थ्यलाई निःशुल्क गर्नुपर्ने बताए । दाङको घोराहीमा शनिबार च्याम्बर अफ कमर्शले आयोजना गरेको निःशुल्क क्यान्सर रोड स्क्रिनिङ कार्यक्रममा उहाँले राज्यले स्वास्थ्यलाई प्राथमिकता राखेर सहुलियत गरिरहेको भएपनि यसलाई निःशुल्क गर्नुपर्ने बताए ।

“ राज्यले धेरै सुविधा प्रदान गरेको छ, तर, यो अप्रयाप्त छ”,उनले भने“मेरो ब्यक्तिगत चाहाना त स्वास्थ्यलाई राज्यले निःशुल्क गर्न सक्नुपर्छ । तर, हामीले सकिरहेका छैनौं, कोशिष गरिरहेका छौं ।”

तीनै तहका सरकारले स्वास्थ्यलाई प्रमुख एजेण्डा बनाएर नीति निर्माण तथा बजेट बिनियोजन गर्ने गरेको समेत उनले बताए । साथै उनले लुम्बिनी प्रदेशको बाँके स्थित शुसिल कोइराला प्रखर क्याम्पस अस्पतालमा रेडियो थेरापी मेसिन हुनु सकारात्मक कुरा रहेको बताए । “रेडियो थेरापी मेसिन नेपालमा विरलै छन्”,उनले भने “बाँकेमा हुनु हाम्रालागि खुसीको कुरा हो ।”

साथै उहाँले क्यान्सर पीडितलाई प्रदेश सरकारले प्रतिब्यक्ती दुईलाख रुपैँया उपचार खर्चको समेत ब्यबस्था गरेको बताए । शिविरमा २ सय ६० जनाले स्क्रिनिङ गरेकोमा १५ जनाका पोजेटिभ देखिएको थियो ।


चेम्बर अफ कमर्श दाङका अध्यक्ष विकास अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा. जनार्दन पन्थी, शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक डा.निरज भट्टराई, घोराही १५ का वडाध्यक्ष रमेश पाण्डेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


हिन्दू विद्यापीठ नेपाल घोराहीका प्रधानाध्यापक डा.भोलानाथ योगीले धन्यवाद ब्यक्त गरेको कार्यक्रमको सहजीकरण उपाध्यक्ष लक्ष्मी अधिकारीले गरेकी थिइन् । शिविरमा क्यान्सर अस्पतालबाट चिकित्सकको टोली आएको थियो । जसलाई बिभिन्न संघसंस्था तथा सरकारी स्तरबाट पनि सहयोग भएको थियो । जिल्लामा यस्ता शिविर आबश्यक रहेको बक्ताहरुको भनाई थियो ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *