दाङ,जेठ २२ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिले गर्ने गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन्।
उनले पार्टी नेतृत्वले गर्ने गलत निर्णयविरुद्ध आवाज उठाउन सक्नुपर्ने बताएका हुन्।
दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि राखिएको अभिमूखीकरणलाई सम्बोधन गर्दै उनले गाली गरेर कांग्रेस अग्लो नहुने तर नेताले गल्ती गर्दा ताली बजाएरमात्रै बसे पार्टी नबन्ने जिकिर गरे।
केही दिनअघि सभापति शेरबहादुर देउवाले गाली गरेर पार्टी नबन्ने धारणा सार्वजनिक गरेपछि त्यसको जवाफ दिँदै महामन्त्री थापाले गलत निर्णयको पक्षमा ताली बजाएर पनि पार्टी नबन्ने बताए।
‘अब पनि हामी बोलेनौँ भने, अब पनि प्रश्न गर्न सकेनौँ भने, गल्ती भएको बेलामा गल्ती भयो भनेर बोल्न सक्नुपर्छ,’ उनले भने, ‘पार्टीको अहित हुने निर्णय भयो भने रोक्न सक्नुपर्छ। पार्टीलाई ठीक ठाउँमा उभ्याउन सक्नुपर्छ ।’
पार्टी नेतृत्वले चुनावमा गठबन्धन गरेर गल्ती गरेको थापाको आरोप छ। ‘पार्टीले कहाँ गल्ती गर्यो भने माथिदेखी तलसम्म कांग्रेसको मान्छेलाई हँसिया हथौडामा भोट हाल्न लगाउने कुरा गल्ती थियो। कांग्रेसको मान्छेलाई कलममा भोट हाल्न लगाउने कुरा कांग्रेसको गल्ती थियो,’ उनले भने।
गल्ती भएको बेलामा गल्ती भयो भन्नसके र त्यसलाई सच्याउन सके पार्टीलाई ठीक ठाउँमा उभ्याउन सकिने बताए। पार्टीभित्र परम्परागत सोच र चिन्तन हावी भएको दावी उनले गरे।
‘केही साथीहरुलाई के लाग्दो रहेछ भने वर्षाैंदेखि यसैगरी चल्दै आएको, यसरी चल्दै आउदा चलेकै थियो। चलेकै छ। यी केटाहरु जान्ने भएर आएर यसरी पार्टी चल्दैन भन्ने भन्ने लाग्दो रहेछ,’ उनले भने,‘हिजोकै चालढालबाट, हिजोकै चरित्रबाट अब पार्टी चल्छ भन्ने ठान्यौँ भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ।’
नेपाली कांग्रेसलाई बदल्नै पर्ने उनले बताए। ‘कांग्रेसलाई बदल्न तपाई हामी सबै बदलिनुपर्ने छ। त्यो भन्या निर्वाचन प्रणाली बदलौँ। समानुपातीक निर्वाचन प्रणाली बदलेर प्रत्यक्ष मात्रै राख्यौँ। प्रत्यक्षलाई समावेशी बनाऔँ,’ उनले भने, ‘यसो गर्दा कोहीसँग गठबन्धन गर्न पनि परेन। पार्टीले काविल मान्छेलाई मन्त्री बनाऔँ न त। पार्टीभित्र माथिदेखि तलसम्म भएको सबै गुट भत्काउँ त। पार्टीले दिने टिकटको निर्णय तल्लो तहबाटै निर्णय गरौँ त। यही हो बदलिने भनेको।’
धेरै समय पार्टी र जनप्रतिनिधिको बीचको सम्बन्ध, गर्नुपर्ने काम र लिनुपर्ने नीतिको बारेमा समय खर्चिएका थापाले पार्टीले तयार पारेको घोषणापत्रको आधारमा काम गर्न सुझाए।
नेपाली कांग्रेस प्रशिक्षण विभाग लुम्बिनी प्रदेशले दुई दिनसम्म प्रदेश स्तरीय प्रशिक्षण आयोजना गरेको छ। प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य विनोद चौधरीले मुलुक आर्थिक रुपमा संकटको अवस्थामा पुगेको भन्दै ध्यानाकर्षण गराए।
उनले साधारण खर्च बढ्ने तर, पुँजीगत खर्च घट्ने अवस्थाले मुलुकलाई अहित गर्ने तर्क गरे।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य विनोदकुमार चौधरीले सरकारले समस्याको समाधान गर्न नसक्दा मुलुक जर्जर अवस्थामा पुगेको बताएका छन्।
उनले साधारण खर्च बढ्नु तर, पुँजीगत खर्च हुन नसक्नु डरलाग्दो अवस्था रहेको टिप्पणी गरे।
‘राजनीतिले आत्मविश्वास जगाउन सक्नुपर्छ। अहिलेसम्म त्यस्तो देखिएन। युवा देशमा केही छैन भनेर विदेश पलायन हुन थाले। यो राम्रो संकेत होइन,’ उनले भने, ‘राजनीतिले आत्मविश्वासको वातावरण सिर्जना गर्न सक्नुपर्छ। राजनीतिले डेलिभरी दिन सक्नुपर्छ। आवश्यकताको आधारमा सेवा प्रवाह छिटो–छरितो हुनै पर्छ।’