
दाङ, बैशाख ३ । रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ३३ बर्षीय कृष्ण वली अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन् ।
उनको घरबाट आइतबार दिउँसो १ बजे अबैध रुपमा लुकाइ छिपाइ राखेको अवस्थामा इटालिक अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारु मगरले जानकारी दिए ।
वलीको घर खान तलासी गर्दा माथिल्लो तलाको माटोको डरी भित्र लुकाएको अवस्थामा स्वचालित पेस्तोल बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
मेडइन इटाली लेखिएको नौं राउन्ड गोली खाने एक थान पेस्तोल म्यागजिनसहित बरामद भएको डिएसपी मगरले बताए ।
इलाका प्रहरी कार्यालय घर्ती गाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजेतिर वडाध्यक्षको घर खानतलासी गर्दा उक्त स्वचालित पेस्तोल र तीन राउन्ड गोली बरामद गरेको थियो ।
पक्राउ परेका वली बिरुद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको छ । जिल्ला अदालत रोल्पाले वडाध्यक्ष वलीलाई थप १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको छ ।
वडाध्यक्ष वली बिरुद्ध चैत ३० गते बेलुका ४ बजेको समयमा गंगादेव गाउँपालिकाका अध्यक्षले चढ्ने रा १ झ १९१ नम्बरको (स्कारपियो) सरकारी गाडीलाई तोडफोड गरेको अभियोगपनि छ । उक्त अभियोगमा जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष वली बिरुद्ध थप १५ दिन म्याद थप गरेको छ ।