काठमाडौँ,बैशाख ३ । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउनेहरूको संख्या बढ्न थालेको छ ।
पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरूको संख्या बढिरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो ।
केही दिनयता नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमितहरू बढिरहेका छन् । यसबीचमा दुई जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।
तर, कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरूमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरू मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए ।
उनले कोरोना भाइरस बढिरहनुको कारण हालका लागि ओमिक्रोन भेरियन्टका सबभेरियन्टहरू रहेको बताए । उनले नेपालमा अहिले नौवटा सबभेरियन्टहरू फेला परेको र जसमा आधाभन्दा धेरै नयाँ रहेको बताए ।
डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे ।
उनले यो सबभेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको जानकारी दिए । कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरू बढ्दै गएका छन् ।
अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरू बढेको अस्पतालले जनाएको छ ।
डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरूले बेलैमा बुस्टर लगाउन पनि आग्रह गरे । उनले कोरोना संक्रमणलाई थप विस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिए ।
उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित शतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताए ।