घोराही,पुस ३० । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बिरामीले निःशुल्क उपचार पाउने गरेका छन्।
प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले
चालु आर्थिक वर्षको छ महिनामा आठ सय ७४ बिरामीले त्यस्तो सेवा लिएको जानकारी दिए ।
भट्टराईका अनुसार सामाजिक सेवा एकाइबाट गरिब एक सय २४, अपाङ्ग २१, असहाय आठ, महिला स्वास्थ्य स्वयंसेविका छ तथा थुनुवा ४४ गरी दुई सय तीन जनाले सेवा लिएका छन्।
त्यस्तै जेरियाट्रिक सेवा लिने ज्येष्ठ नागरिक पाँच सय चार रहेका छन्। त्यसमा ६० देखि ९२ वर्षसम्मका महिला दुई सय ७४ र पुरुष दुई सय ३० रहेका छन्।
त्यस्तै सिकलसेल एनिमियाका एक सय १४ जनाले निःशुल्क औषधि खाइरहेका छन्। सिकलसेलका बिरामीलाई एक लाखसम्मको औषधि उपलब्ध गराउने नीति अनुरुप प्रतिष्ठानबाट ६१ महिला र ५३ पुरुषले निःशुल्क रुपमा औषधि पाइरहेका छन्।
त्यस्तै ५३ जनाले डायलाइसिस सेवा निःशुल्क लिइरहेका छन्। चालु आर्थिक वर्षको साउनसम्म केही बिरामीलाई आंशिक मात्रै छुट दिने गरिएको भए पनि भदौदेखि भने पूर्णरुपमा नै छुट दिने गरिएको प्रतिष्ठानका स्रोत व्यक्ति दीपक केसीले बताए।
वडाको सिफारिसका आधारमा प्रतिष्ठानले जाँच बुझ गरेर निःशुल्क उपचारको व्यवस्था गर्ने गरेको उनको भनाइ छ।
“गरिब, विपन्न, अशक्त, असहाय वर्गलाई निःशुल्क उपचार दिने प्रतिष्ठानको नीति हो”, उनले भने, “त्यहीअनुसार बिरामीलाई सेवा दिने गरेका छौँ ।”