नेपालगञ्ज,पुस २९ । नेपालगञ्जमा दादुरा खोपको दायरा बढाउँदै लगिएको छ। दादुरा संक्रमण देखिएपछि तीन वटा वडाबाट सुरु गरिएको खोप अभियान १४ वटा वडा पुर्याइएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा २३ वडा छन्।
दादुराविरुद्धको खोप मासिक रुपमै लगाइन्छ। तर यसमा छुटेका धेरै बालबालिकामा दादुरा देखिएपछि विशेष अभियानको रुपमा अहिले खोप लगाइएको छ। सरकारले खोपलाई प्राथमिकतामा राखेपछि नेपालगञ्जका सबै वडामा खोप अभियान पुर्याउने तयारी गरिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार, वडा नं. १० मा पनि खोप लगाउन सुरु गरिएको छ। शुक्रबार १३ वटा खोपकेन्द्रबाट खोप लगाइएको छ।
नियमित अभियानमा खोप नलगाएकाहरु अहिले दादुरा संक्रमण देखिएपछि खोप लगाउन आइरहेका छन्। देशभर नै चर्चा भएपछि र दादुराबाट बालकको मृत्युसमेत भइसकेकाले खोप नलगाएर बसेकाहरु खोप लगाउन आएका छन्।
खोप लगाउनेको संख्या बढ्दै गएपछि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३० हजार डोज खोप पठाइदिएको छ। यहाँ ६ हजार पाँच सय डोज स्टक नै थियो।
नेपालगञ्जमा अहिलेसम्म एक सय ३० जना दादुरा संक्रमण देखिएको छ। त्यसमा ७१ जना निको भइसकेका छन्। नेपालगञ्जमा एक जनाको अस्पतालमा उपचार भइरहेको छ। खजुरामा दुई र कोहलपुरमा एक जनामा संक्रमण देखिएको छ।