दाङ, पुस १४ । तीन महिना पछि बाँकेमा कोरोना संक्रमित फेला परेपछि सतर्कता अपनाउन थालिएको छ ।
भारतबाट घर फर्किरहेकी जाजरकोटी एक महिलामा स्वास्थ्य परीक्षण बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि सर्तकता अपनाउन थालिएको हो ।
बाँकेस्थित जमूनाह नाकामा भारतबाट आउने ५१ जनालाई परीक्षण गर्दा भारतबाट घर फर्कदै गरेकी जाजरकोटकी ३० बर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको बाँके जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति तेज वलीले बताए ।
उनका अनुसार असोज १ गतदेखि बाँकेको जमुनाहा नाकामा सङ्क्रमित फेला परेको यो नै पहिलो घटना हो ।
तीन महिनाको अन्तरालमा पहिलो पटक संक्रमित फेला परेपछि महिलाई सुरक्षाकर्मीले छुट्टै राखेर सम्बन्धित जिल्लाको स्थानीयपालिकासंग समन्वय गरि अलग्गै सवारी साधनमा आफ्नै घरको होम आइसोलेसनमा बस्ने गरि पठाइएको वलीले जानकारी दिए ।
संक्रमित फेला परेसंगै तीन महिनापछि बाँकेमा जिल्ला कोभिड –१९ व्यवस्थापन केन्द्रको बैठक बिहीबार बसेको छ । बैठकमा सङ्क्रमण नियन्त्रणका लागि सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गर्ने निर्णय गरेको छ ।
साथै पछि पहिले जस्तै स्वास्थ्य मापदण्ड पालना गर्नका लागि आम नागरिकमा आग्रह गरिएको वलीले जानकारी दिए ।
केन्द्र सरकारसंग बुष्टर डोज माग्ने, खोप लगाउने, आमनागरिकमा पहिले जस्तै मापदण्ड पालना गर्नका लागि अपिल गरिएको उनले बताए ।