तुलसीपुर,मंसिर २२ । राप्ती आँखा अस्पताल रक्षाचौरमा आँखा सम्बन्धी जटिल प्रकारका रोगको उपचार हुन थालेको छ । आँखामा देखिने जटिल प्रकारका समस्याको सहज उपचार गर्न थालेपछि सेवा लिनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको यहाँका नागरिकहरु बताउँछन ।
राप्ती आँखा अस्पतालले विगत डेढ वर्षदेखि सामान्य आँखा जाँचदेखि आँखाको पर्दा फेर्ने तथा आँखाको नानी समेत फर्ने प्रविधिको उपचार सेवा शुरु गरेको छ । अस्पतालले चार जटिल किसिमका आँखाको पर्दा, आँखाको नानी, अकुलोप्लाष्टिक एवं आँखाको क्यान्सर बाल आँखा रोगको उपचार सेवा दिदै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष सुवेदीले जानकारी दिए ।
नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममामा डा. सुवेदीले भने,‘ सामान्य आँखा जाँच सेवाबाट शुरु भएको आँखा अस्पतालले विशेषज्ञ आँखा उपचार सेवा दिन थालेको छ,तर अस्पतालमा जलबिन्दुको समस्या समाधान गर्न विशेषज्ञ र मेसिनको समस्या रहेको हुदाँ यसका लागि काठमाडांै जानुपर्ने बाध्यता छ ।’
उनले आँखाको पर्दामा देखिने सबै प्रकारको समस्यालाई अस्पतालमै समाधान गरिने बताए । आँखामा पर्दा लागेको अवस्थामा अस्पतालमा सामान्य जाँचदेखि शल्यक्रिया समेत गर्ने ब्यवस्था रहेको बताउँदै उनले यस सम्बन्धी देखिने समस्याको उपचारमा स्वयं आफुकै नेतृत्वमा उपचार हुने गरेको बताए उनका अनुसार आँखाको नानीमा देखिने सबै प्रकारका समस्याको उपचार पनि अस्पतालमा हुने गरेका छन् ।
डा. ज्योति सापकोटाको नेतृत्वमा सामान्य जाँचदेखि शल्यक्रिया समेत हुने गरेको छ भने डा. सुरेश रसाइलीको नेतृत्वमा आँखाको अनुलोप्लाष्टिक तथा आँखा क्यान्सरको उपचार पनि हुने गरेको उनले जानकारी दिए । अस्पतालमा बाल आँखा रोग उपचार सेवा समेत रहेको उनको भनाई छ । जहाँ डा. निता सुनामको नेतृत्वमा आँखा टेढो, आँखाको जाँच, दृष्टिदोष, मोतीबिन्दुको शल्यक्रिया र न्यून दृष्टिसम्बन्धी उपचार हुने गरेको छ ।
पत्रकार सम्मेलनमा वर्षभरी गरिएका क्रियाकलाप तथा उपलब्ध सेवाका विषयमा जानकारी गराइएको छ । नेत्रज्योति संघ दाङका सहसचिव तथा राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक चिरञ्जीवी रिजालको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा कार्यक्रममा नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र खड्काले आँखा सबैका लागि महत्वपूर्ण रहेको भन्दै जिल्लाबाटै सबै प्रकारका विशेषज्ञ आँखा उपचारका लागि प्रयास जारी रहेको बताए ।
उनले पैसाकै कारण कसैले दृष्टि गुमाउन नपरोस भनि गरिब तथा विपन्न परिवारका बिरामीलाई निशुल्क आँखाको सेवा प्रदान गर्दै आएको पनि बताए । साथै सन २०२४ सम्म राप्ती आँखा अस्ताललाई आफेमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरुप अगाडी बढेको बताए ।
त्यस अवसरमा अस्पतालका प्रशासक किरण पौडेलले स्थापनाकाल देखि हालसम्म १० लाखबढी बिरामीलाई सेवा दिएकोे जानकारी बताए । उनका अनुसार हालसम्म ३२ हजारभन्दा बढीलाई आँखाको शल्यक्रिया मार्फत सेवा दिइएको छ ।
पत्रकार सम्मेलनको सहजीकरण अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।